कञ्चनपुरमा विश्वासघात भएको भन्दै पार्टी त्यागेका ३२ जना पुनः कांग्रेसमा फर्किए
कञ्चनपुरः कञ्चनपुरमा विश्वासघात भएको भन्दै पार्टी त्यागेका ३३ मध्ये ३२ जना पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। असोज १० गते कृष्णपुर नगरपालिका–२ मा कांग्रेसका ३३ जना क्रियाशील सदस्यहरुले विज्ञप्ति जारी गरेर पार्टी परित्यागको घोषणा गरेका थिए।
तर ९ दिनपछि मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले कांग्रेसमा फर्किएको घोषणा गरेका छन्। कांगे्रस कञ्चनपुरका आमन्त्रित जिल्ला सदस्य बलराम पन्तसहित ३३ जना क्रियाशील सदस्यले कांग्रेस परित्याग गरेको थिए।
पन्तले वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधी पदमा पराजय व्यहोरेका थिए। त्यसपछि उनीसँगै पार्टी परित्यागको घोषणासहित ३२ जना क्रियाशील सदस्यले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए। तर हाल आएर उनीहरुले कांग्रेसमै रहेर आन्तरिक संघर्ष गर्ने सामूहिक धारणा सार्वजनिक गरेका छन्। पार्टी परित्याग गरेका क्रियाशील सदस्यहरु अन्य पार्टीमा प्रवेश गर्न सहमत नभएपछि आमन्त्रित सदस्य पन्त एक्लिएका छन्।