सुदूरपश्चिमको बजेटको पक्षमा बोल्न २ सांसदलाई मन्त्री बनाउने आश्वासन
धनगढीः सुदूरपश्चिममा बजेटको विवाद झन बल्झिएको छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथिको विवाद झन–झन् बल्झिदै गएको हो।
सत्ता पक्षकै सांसदहरु सरकारले ल्याएको बजेटको निरन्तर विरोधमा उत्रिएपछि बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन। बजेटमाथिको छलफलका लागि बोलाइएका प्रदेश सभा बैठकहरु पनि लगातार स्थगित भइरहेका छन्।
यस्तै विवाद बढीरहेका बेला सरकारमा सहभागी दलहरुले सांसदलाई निर्देशन दिनेदेखि मन्त्री बनाउने सम्मको आश्वासन बाँडिरहेको खुलेको छ। स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री दिर्घबहादुर सोडारीले दुई सांसदलाई मन्त्री बनाउने आश्वासन दिएका हुन्। सोडारीले एकीकृत समाजवादीका सांसद बलबहादुर सोडारी र शुशिला बुढाथोकीलाई बजेटको पक्षमा उभिनुपर्ने शर्तमा राज्यमन्त्री बनाउने आश्वासन दिएको स्रोतको दाबी छ।
सोडारीले एकीकृत समाजवादीका राज्यमन्त्रीद्वय अमरबहादुर साउद र कुलविर चौधरीलाई फिर्ता बोलाएर बुढाथोकी र सोडारीलाई मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ।
सुदूरपश्चिम सरकारले यहि असार १ गते नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो। प्रदेश सरकारले आगामी वर्षका लागि झण्डै पौने ३७ अर्बको बजेट सभामा पेश गरेको हो। तर, उक्त बजेट पास गर्नका लागि अहिलेसम्म पनि छलफल हुन सकेको छैन।
सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सांसद विरोधमा उत्रिएका छन्। माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्। कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने बताइसकेको छ। विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा छन्।
सत्तारुढ दल एकीकृत समाजवादीकै ४ मन्त्रीबाहेकका ८ जना प्रदेशसभा सदस्यहरू बजेटप्रति रुष्ट छन्। सरकारले ल्याएको बजेटप्रति नेकपा एसका ८ सांसद असन्तुष्ट देखिएका छन्। तारालामा तामाङ, पूर्णा जोशी, चुनकुमारी चौधरी, शुशिला बुढाथोकी, बलबहादुर सोडारी, माया तामाङ बोहरा, मना कुमारी साउद र लालबहादुर खड्का अर्को पक्षमा देखिएका हुन्।