एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी
धनगढीः नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ।
जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। रायमाझी गत मंसिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी यसअघि उपप्रधान तथा ऊर्जामन्त्री,भौतिक पूर्वाधारमन्त्री,स्थानीय विकास मन्त्री र शान्तिमन्त्री भएका थिए। रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका बाबु– छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए। सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे भने पक्राउ परेका छन्। उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। यसअघि मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका थिए। राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर,उनी फरार छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले सन्दीपको नाममा काटिएको डेढ करोडको चेक पनि प्रमाणको रुपमा फेला पारेको उच्च स्रोतले जनाएको छ। उजुरीका आधारमा हालसम्म ७ जना प्रक्राउ परेका छन्।
सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी , कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल,सागर थुलुङ,टंक गुरुङ र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन्।