सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा

२०८२ असोज २६, ०१:३५ रासस

गुल्मीः जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन्। ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए। उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गर्नुभएको छ।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा जाने तर कृषि कर्म नगर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा नेपालीले भने दश वर्षदेखि तरकारीखेतीलाई निरन्तरता दिएका हुुन। गुल्मीजस्तो पहाडी भेगमा बजारको अभाव, सिँचाइ, बीउ, मललगायत समस्याका कारण पनि कृषिमा लामो समय टिक्न कठिन हुने उनको अनुभव छ।उक्त जग्गामा १२ वटा टनेलमा तरकारी, ५० रोपनी जग्गामा धानखेती तथा केहीमा माछापालन, कुखुरा र बङ्गुरपालन गर्नुभएको छ। उहाँले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नुहुन्छ।

खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, गोलभेडा, सिमी, बोडी, बन्दालगायत तरकारी उत्पादन गर्नुहुन्छ।२५ टनेलबाट दैनिक तीन क्विन्टल तरकारी बिक्री तरकारीको मुख्य सिजनअनुसार फरक पर्छ। बेमौसमी तरकारीको मूल्य बढी पर्ने हुँदा उनले बढी मात्रामा बेमौसमी तरकारीको खेती गर्नुभएको छ। अहिले काँक्रा प्रतिकिलो एक सय ३०, गोलभेँडा प्रतिकिलो ८० का दरले बिक्री हुने नेपालीले जानकारी दिए। 

“यो अन्य समयको तुलनामा बढी मूल्य हो। मौसम (सिजन)मा दैनिक तीन क्विन्टलजति तरकारी बिक्री हुन्छ। अहिले दैनिक सात क्विन्टलजति बिक्री गर्ने उद्देश्यले काम गरिरहेको छु”, नेपालीले भने, “उत्पादित तरकारी स्थानीय बजारका साथै तम्घास र बुटलसम्म पुग्ने गरेको छ।” 
उनको बारीमा हाल फलामे १६ र बाँसका १२ गरी कूल २८ टनेल छन्। उक्त टनेलमध्ये छ वटामा गोलभेँडा, दुई वटामा काँक्रा, दुईवटामा सिमी, चार वटामा बोडी उत्पादन भइरहेका छन्। दुईवटा फलामे टनेलमा मौसमी तथा बेमौसमी तरकारीका बेर्ना तयार छन्। बन्दागोपी, फुलगोपी, प्याज, काँक्रा, लहरे तरकारी, सागलगायत बिरुवा नर्सरीमा तयारी अवस्थामा छन्। 

बेर्ना बिक्रीबाट दैनिक ३० हजार आम्दानी हुने नेपालीले जानकारी दिए। गत वर्षदेखि स्टबेरीको पनि उत्पादन सुरु गरेको बताउँदै उनले प्रतिकिलो छ सयका दरले दुई क्विन्टल स्टबेरी बिक्री भएको उल्लेख गरे। “अहिले पाँच क्विन्टल बिक्री गर्ने योजना छ। बजारमा अहिले स्टबेरीको माग बढी छ, उत्पादन बढाउन सके फाइदा हुन्छ”, उनले भने।

खेर गएको तरकारी माछा र बङ्गुरलाईबिक्री नभएको र तरकारीको फेँदमा रहेका पातहरूको पुनः प्रयोगका लागि बङ्गुर र माछापालन गरेको नेपालीले बताए। अर्थात् तरकारीमा खेर गएको पात बङ्गुर र माछाको आहाराका रूपमा प्रयोग हुँदै आएको छ। साथै माछापालन गरेको पानी तरकारीखेतीका लागि समेत उपयुक्त मानिन्छ। अहिले तीनवटा पोखरीमा सिल्भर, कमन र ग्रास गरी तीन जातका माछा रहेका उनले जानकारी दिए।केही समय अघिमात्रै उनले छ हजार भूरा राख्नुभयो। अहिले दुईवटा पोखरीबाट माछा निकाल्ने काम भइरहेको छ। “यो सिजनमा  एक लाख ५० हजारको माछा बिक्री भयो, अरु निकाल्ने काम भइरहेको छ”, उनले भने। उनका अनुसार प्रतिकिलो सात सयका दरले माछा बिक्री हुन्छ।

उनले तीन वर्षदेखि बङ्गुर पाल्नुभएको हो। अहिले बङ्गुरका तीनवटा माउ छन्। वर्षमा दुई पटक क्याउने बङ्गुर बिक्रीबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने बताउँदै उनले वार्षिक रूपमा बङ्गुरका करिब ३० बच्चा बिक्री गरिरहेको जानकारी दिए।नेपालीले ५० रोपनी जग्गामा हाइब्रिड, जिटेन, उपजलगायत धान लगाएका छन छ। गतवर्ष उनले स्थानीय बजारका साथै तम्घास, बुटबल र काठमाडौँसम्म एक सय २० मुरी धान बिक्री गरेर  एक लाख २० हजार आम्दानी गरे। 

मासिक तीन लाखसम्म बचतकाम गर्नका लागि उनले तीनजना दैनिक र अन्य मौसमी कामदार राख्नुभएको छ। तीनजनाको तलब १२ देखि १८ हजारसम्म छ। आलु, धान र तरकारी लगाउने समयमा ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने गर्दछ। यसरी खर्च कटाउँदा पनि मासिक रु तीन लाख अर्थात् वार्षिक रु ३६ लाख आम्दानी गर्ने नेपालीले बताए। “घरखर्च चलाउन, बालबच्चा बढाउन राम्रैसँग पुग्नुका साथै केही रकम बचत पनि भएको छ”, उनले भने, “विदेश जाने वा पेसा परिवर्तन गर्ने कुनै सोचमा छैन।”

कृषि कर्ममा नेपालीलाई राज्यले पनि सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रले गत वर्ष टनेल निर्माणका लागि  दुई लाख ७८ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा टनेल, भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्रबाट माछा पोखरी बनाउन एक लाख, सिँचाइका लागि रेसुङ्गा नगरपालिकाबाट ६३ हजारको तीन सय मिटर पाइप उपलब्ध भएको उनले जानकारी दिए। सोही कारणले कृषि कर्मलाई निरन्तरता दिन हौसला बढेको भन्दै उनले भने, “कृषिमा नगदी खर्च कम र आम्दानी बढी हुन्छ। एकैपटक प्रतिफल खोजेर हुँदैन, मेहनत र धैर्य गर्नुपर्छ।”

कमेन्ट लोड गर्नुस