सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्नया गाउँपालिका विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन

२०८२ पुष २५, ०१:५७

बैतडीः बैतडीको सुर्नया गाउँपालिका विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक सेवा प्रभावित भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गत कात्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन सकेको छैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस ६ गते शाखा अधिकृत खगेन्द्र भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो। तर उनी गाउँपालिकामा हाजिर हुन नपाउँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा पुनः सरुवा भएका छन्। भारती हाल जिल्ला निर्वाचन कार्यालयमा कार्यरत रहेको बताइएको छ।

गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामकाज ठप्पप्रायः बनेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए। उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएको बताए।

उनले भने, 'प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा विकास निर्माणका काम प्रभावित भएका छन्। मन्त्रालयमा बारम्बार जानकारी गराएका छौं, तर हालसम्म कुनै व्यवस्था भएको छैन।' प्रमुख प्रशासकीय अधिकृतको अभावले सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिएको छ, जसका कारण लाभग्राहीहरू निराश भएका छन्।

यसअघि जेन्जी समूहको अगुवाइमा विभिन्न माग राख्दै ३९ दिनसम्म गाउँपालिकामा तालाबन्दी गरिएको थियो। माग सम्बोधन गर्ने सहमतिपछि तालाबन्दी खुले पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सहमति कार्यान्वयनमा कठिनाइ भइरहेको अध्यक्ष कुँवरले बताए।

उनका अनुसार निर्वाचन नजिकिँदै जाँदा समस्या झन् जटिल बन्दै गएको छ। 'निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा सम्भव हुँदैन, त्यसैले समयमै प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था आवश्यक छ,' उनले भने।

यता, गाउँपालिकामै कार्यरत कर्मचारीहरू समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अनिच्छुक देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण सेवा प्रवाह, विकास निर्माण र सामाजिक सुरक्षा कार्यक्रमहरू प्रभावित भइरहेका छन्।

कमेन्ट लोड गर्नुस