आगामी निर्वाचनमा उम्मेदवार नबन्ने दिलेन्द्रप्रसाद बडूको घोषणा
धनगढी: नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलालाई पत्रमार्फत आफ्नो निर्णय औपचारिक रूपमा जानकारी गराएका हुन्।
२०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार छनोटका लागि बसेको जिल्ला कार्यसमितिको विस्तारित बैठकमा विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै आफूले धारणा र सुझाव राखेको बडूले पत्रमा उल्लेख गरेका छन्। विशेषगरी २०८२ भदौ २३ र २४ गते सम्पन्न जनआन्दोलनपछि विकसित राजनीतिक तथा सामाजिक अवस्था, त्यसका सकारात्मक–नकारात्मक पक्ष र पार्टीको समयानुकूल रूपान्तरण तथा पुस्तान्तरणको आवश्यकता उनले औंल्याएका छन्।
बडूले पार्टीभित्र सक्षम, सक्रिय र नयाँ पुस्ताका नेताहरूलाई अवसर दिनुपर्ने धारणा राख्दै आफू उम्मेदवारको दौडबाट अलग रहने निर्णय गरेको बताएका छन्। विस्तारित बैठकमा उपस्थित अधिकांश शुभेच्छुक तथा पार्टी सहकर्मीहरूले सर्वसम्मत रूपमा उनलाई उम्मेदवारको रूपमा प्रस्ताव गरे पनि पार्टी हितलाई ध्यानमा राख्दै आफूले उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।
पत्रमा उनले पार्टी र पार्टीका सम्पूर्ण साथीहरूलाई समर्थन र सद्भावका लागि धन्यवाद दिँदै, प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण सहयोग र सक्रियता रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सक्षम र उपयुक्त उम्मेदवार चयन गरी पार्टी केन्द्रमा सिफारिस गर्नसमेत आग्रह गरेका छन्।
नेपाली काँग्रेसभित्र सभामुख उम्मेदवार चयनबारे आन्तरिक छलफल जारी रहँदा बडूको यो घोषणालाई पार्टीभित्र पुस्तान्तरण र सहमतिमूलक राजनीतितर्फको संकेतका रूपमा हेरिएको छ।