धनगढीमा युवा उद्यमीहरूको ‘इन्टर च्याप्टर रिट्रिट’, लगानी र पर्यटन सम्भावनामा जोड
धनगढीः कैलालीको धनगढीमा युवा उद्यमीहरूको सहभागितामा ‘इन्टर च्याप्टर रिट्रिट’ कार्यक्रम सम्पन्न भएको छ। नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा विभिन्न च्याप्टरका पदाधिकारी तथा सदस्य गरी एक सयभन्दा बढीको सहभागिता रहेको थियो।
सुन्दर सुदूरपश्चिममा रमाउँदै यहाँका आर्थिक सम्भावना पहिचान गर्ने, लगानीको वातावरण निर्माण गर्ने र युवा उद्यमीहरूलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष अच्युत दाहालले जानकारी दिए।
कार्यक्रममा सुदूरपश्चिममा लगानीका सम्भावना विषयमा पूर्व अध्यक्ष इन्जिनियर रोशन भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए भने पर्यटन क्षेत्रका अवसरबारे नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले आफ्नो प्रस्तुति राखेका थिए। प्रस्तुत कार्यपत्रमार्फत लगानी गर्न इच्छुक युवा व्यवसायीहरूलाई सम्भावित क्षेत्र र अवसरबारे विस्तृत जानकारी दिइएको थियो।
अध्यक्ष दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोपाल हमालले सुदूरपश्चिममा रहेका व्यवसायिक सम्भावना, आफ्ना अनुभव तथा स्थानीय तहले लगानी भित्र्याउन खेल्न सक्ने भूमिकाबारे मन्तव्य व्यक्त गरे।
मञ्चका प्रथम उपाध्यक्ष आयुष हमालले स्वागत गरेको कार्यक्रममा विभिन्न च्याप्टरका प्रतिनिधिहरूले पनि धारणा राखेका थिए। कार्यक्रममा सुर्खेत, पोखरा, रुपन्देही, कञ्चनपुर र नेपालगञ्ज च्याप्टरका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सांस्कृतिक रूपमा समेत आकर्षक बनाइएको थियो। भुवा, सखिया तथा लठ्ठी नाचका प्रस्तुतीसँगै चौधरी (थारु) समुदायका परिकार तथा सुदूरपश्चिमका स्थानीय खानाका स्वाद सहभागीहरूले लिएका थिए।