सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटान फुडसिलमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अलपत्र

२०८३ जेठ ८, ०६:०१ खबर संवाददाता

डोटीः डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार अखडामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अलपत्र अवस्थामा रहेको छ । गाउँपालिका र सिएम–प्रसन्न जेभीबिच २०७८ असार १८ गते निर्माण सम्झौता भएको भवन २०७९ असार २९ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौता भएको थियो । 

भ्याटसहित १६ करोड ८५ लाख ४२ हजार रुपियाँ लागतमा निर्माण सम्झौता भएको आयोजनाको हालसम्म भवनको जग र पिल्लर उठाउने काम मात्र भएको छ । निर्माण व्यवसायीले हालसम्म दुई करोड ९० लाख रुपियाँ पेस्की रकम बुझिसकेको  छ । 

जिल्लाका सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण अझै सम्पन्न हुन सकेका छैनन् । अधिकांश अस्पतालका भवन निर्माण अलपत्र रहेका छन् भने कतिपय स्थानमा निर्माणको प्रगति अत्यन्तै न्यून रहेको पाइएको छ ।

स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभरिका ३९६  वटा स्थानीय तहमा आधारभूत अस्पताल भवनको एकैसाथ शिलान्यास भएको थियो । सोही क्रममा डोटीका सात भवनको पनि शिलान्यास भएको थियो । गाउँपालिकाका तर्फबाट पटक पटक ताकिता गर्दासमेत निर्माण व्यवसायीले लापर्बाही गरेका कारण भवन निर्माण  अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। 

पटक पटक समय थप गर्दा पनि कामको प्रगति न्यून रहेको र प्रदेश सरकारले पनि पूरा गर्न चासो नदिएको उनको भनाइ छ । उनले निर्माणमा भएको ढिलाइका कारण स्थानीयले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको उल्लेख गरे। निर्माण व्यवसायी कम्पनीका ठेकेदार दीर्घराज जोशीले कठिन भौगोलिक अवस्था र यातायात पहुँचको अभावले निर्माण प्रभावित भएको बताए।  

उनले सडक वर्षमा छ महिना मात्र सञ्चालन हुने तथा बर्खायाम सुरु भएपछि सडक अवरुद्ध हुने समस्याले आवश्यक निर्माण सामग्री ढुवानीमा समस्या हुँदा समयमै काम सम्पन्न हुन नसकेको बताए। सरकारले सुदूरपश्चिम प्रदेशमा डडेलधुरामा पाँच, बैतडीमा नौ, डोटीमा सात, दार्चुलामा सात, बझाङमा १०, अछाममा आठ, बाजुरामा नौ, कैलालीमा १० र कञ्चनपुरमा आठ वटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउने अवधारणा अगाडि सारेको थियो ।   
 

कमेन्ट लोड गर्नुस