रुखबाट खसेर डडेल्धुरामा बालविकास शिक्षिकाको मृत्यु
डडेल्धुरा: डडेल्धुरामा रुखबाट खसेर एक बालविकास शिक्षिकाको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी ३७ वर्षीया लक्ष्मी भण्डारीको आइतबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।
भण्डारी घनघस्या माध्यमिक विद्यालय, खतेडामा बालविकास शिक्षिकाका रूपमा कार्यरत रहेको विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारी दिनुभयो। घर नजिकै घाँस काट्न रुखमा चढ्नुभएकी उनी अचानक खसेर गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला उनको मृत्यु भएको विद्यालय परिवारले जनाएको छ।
खतेडा क्षेत्र दुर्गम ग्रामीण बस्तीका रूपमा परिचित छ, जहाँबाट उपचारका लागि जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पताल पुग्न कठिन हुने गरेको स्थानीयले बताएका छन्। खतेडाबाट अस्पतालसम्म पुग्न करिब दुई घण्टा समय लाग्ने गरेको जनाइएको छ।
स्थानीयवासीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र यातायात पहुँच अभावका कारण यस्ता घटनामा समयमै उपचार पाउन कठिन हुने समस्या रहेको बताएका छन्।