सुदूर नेपाललाई विश्वसँग जोड्दै

'सुदूर अब, दूर नाइ' भन्ने नारापछि उठेको प्रश्न : पायो त माया सुदूरले?

२०८३ जेठ २५, ०४:३० अनुभव भट्ट

धनगढी: चुनावी अभियानका क्रममा सुदूरपश्चिमको चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले भनेका थिए, “सुदूर अब दूर नाई, झिकै झिकै माया तमलाई।” उक्त अभिव्यक्तिले त्यतिबेला सुदूरपश्चिमप्रति नयाँ राजनीतिक प्रतिबद्धताको सन्देश दिएको थियो।

आइतबार कैलालीमा आयोजित रास्वपाको जिल्ला अधिवेशनमा पार्टीका नेता केपी खनालले पनि उही भाव दोहोर्‍याए। उनले भने, “सुदूर अब दूर छैन, झिकै झिकै माया तमलाई।” तर उनको अभिव्यक्तिसँगै एउटा पुरानो प्रश्न फेरि उठेको छ—के साँच्चै सुदूरपश्चिमले त्यो माया पायो?

खनालले आफ्नो सम्बोधनका क्रममा पुराना राजनीतिक दलहरूको कार्यशैली र चिन्तनप्रति तीव्र आलोचना गरे। उनले देशका जनता, युवा र राष्ट्रलाई नै पुराना दलहरूले संकटमा पुर्‍याएको दाबी गर्दै रास्वपा त्यसैको विकल्पका रूपमा उदाएको बताए। उनले सरकार गठन भएको छोटो अवधिमै भएका कामहरूको चर्चा गर्दै ती उपलब्धिहरू पुराना दलहरूले दशकौंसम्म पनि गर्न नसकेको दाबी गरे।

नयाँ र पुराना राजनीतिक शक्तिबीच तुलना हुनु स्वाभाविक भए पनि ३५ वर्षसम्म शासन सञ्चालन गरेका दलहरू र केही महिनाअघि मात्रै सरकारमा पुगेको दलबीच प्रत्यक्ष तुलना गर्नु उपयुक्त नहुन सक्छ। तर खनालको अभिव्यक्तिले उठाएको प्रश्न भने महत्त्वपूर्ण छ, विशेषगरी सुदूरपश्चिमका नागरिकका लागि।

सुदूरपश्चिम अहिले पनि  गरिबी, विकास पूर्वाधारको कमि, लागूऔषध दुर्व्यसन, युवा पलायन, बेरोजगारी तथा सामाजिक असुरक्षाजस्ता समस्यासँग जुधिरहेको छ। विभिन्न समूह र गिरोहमार्फत समाजमा अराजकता फैलाउने प्रवृत्ति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यी चुनौती समाधानका लागि पुनर्स्थापना केन्द्र, निगरानी संयन्त्र, सुरक्षा व्यवस्थापन र आवश्यक पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता छ।

बालेन शाहले चुनावी अभियानका क्रममा सुदूरपश्चिमको भाषा, संस्कृति र पहिचानलाई सम्मानपूर्वक प्रस्तुत गरेका थिए। कला क्षेत्रको पृष्ठभूमिबाट आएका उनले स्थानीय समुदायसँग सम्बन्ध स्थापित गर्ने प्रयास गरेको देखिन्थ्यो। तर सरकार सञ्चालनका लागि भाषण र सांस्कृतिक निकटताभन्दा पनि नतिजामुखी नीति र कार्यक्रम आवश्यक हुन्छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारमा जानुअघि नेपालको आर्थिक संरचनामा ‘डिसरप्सन’ अर्थात् सृजनात्मक परिवर्तन आवश्यक रहेको धारणा सार्वजनिक गरेका थिए। पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिँदै उदाएको रास्वपाबाट धेरैले बजेटमार्फत पनि त्यस्तै परिवर्तनको अपेक्षा गरेका थिए। तर सार्वजनिक भएको बजेटमा अपेक्षाअनुसारको संरचनात्मक परिवर्तन देखिएन।

बजेटको आकार अघिल्लो वर्षको तुलनामा बढे पनि यसको मूल संरचना भने पुरानै ढाँचामा कायम छ। ठूलो हिस्सा चालु खर्चमा, उल्लेख्य रकम ऋण भुक्तानीमा र सीमित अंश मात्रै विकास खर्चमा विनियोजन गरिएको छ। सरकारी कर्मचारीको तलब वृद्धि बाहेक आम नागरिकले प्रत्यक्ष महसुस गर्ने खालका ठूला परिवर्तन बजेटमा कम देखिएका छन्।

सुदूरपश्चिमका दृष्टिले पनि बजेट अपेक्षाअनुसार बन्न सकेन भन्ने टिप्पणी भइरहेको छ। खप्तड, रामारोशन, बडीमालिका, बुढीनन्दा र रारा क्षेत्रसँग सम्बन्धित केही पर्यटकीय पदमार्गका योजना समेटिए पनि प्रदेशका दीर्घकालीन विकाससँग जोडिएका धेरै महत्त्वपूर्ण परियोजना बजेटमा प्राथमिकतासाथ समावेश हुन सकेनन्।

सरकारले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिको हिस्सा कति हो भन्ने यकिन विवरण यश क्षेत्रबाट निर्वाचित सांसदहरूले सार्वजनिक गरेका छैनन्।

सुदूरपश्चिममा जलविद्युतको प्रचुर सम्भावना छ। तर सरकारको बजेटमा सेती राजमार्ग, महाकाली राजमार्ग, खुटिया-दिपायल द्रुत मार्गमा कति बजेट हाल्यो? यहाँको स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न के कस्ता योजना अगाडि सारिए? सडक पूर्वाधारदेखि सञ्चार, खानेपानी, उर्जा, सिंचाइ र पर्यटन क्षेत्रका लागि सङ्गीय सरकारले अगाडि सारेका योजनाको बारेमा उल्लेख नगरी रास्वपा सांसद खनालले एकोहोरो पुराना दलहरूलाई सत्तामा बसेर सराप्नुलाई राम्रो मान्न सकिन्न।

रास्वपा सरकार गठन भएपछि प्रशासनिक सुधारका प्रयास थालिएका छन्। यी प्रयास सकारात्मक छन्। तर विगतदेखि नै राज्यको लगानीबाट बञ्चित रहेको सुदूरपश्चिम प्रदेशले यो पटक पनि सरकारबाट विशेष माया भने पाउन नसकेको अनुभूति सुदूरपश्चिमेलीहरूको छ।

हुन त सरकार गठन भएको छोटो समयमै सबै परिणामको अपेक्षा गर्नु यथार्थपरक नहुन सक्छ। तर राजनीतिक नेतृत्वका अभिव्यक्ति र जनअपेक्षाबीचको दूरी भने यस्ता प्रसंगले उजागर गरिरहेका छन्।

डिजिटल युगको राजनीतिक विकल्पका रूपमा उदाएको रास्वपाले सुदूरपश्चिमप्रति व्यक्त गरेको ‘माया’ नारामा मात्रै सीमित रहन्छ वा नीति, बजेट र विकास योजनामार्फत व्यवहारमा पनि देखिन्छ भन्ने प्रश्नको उत्तर अब भाषणले होइन, आगामी वर्षहरूमा देखिने परिणामले दिनेछ।

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस