सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

२०८३ जेठ २६, १२:२१ रासस

गोदावरी (कैलाली):  गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन्।

सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उहाँले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल भएका छन्। रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा रु सात हजारसम्ममा बिक्री गर्छन्।

बङ्गुरका पाठापाठी बिक्रीबाट मात्रै मासिक रु एक लाख ५० हजारसम्मको कारोबार हुने गरेको उनले बताए। उनले सबै खर्च कटाएर मासिक रु ७० हजार बचत गर्ने गरेको सुनाए। बङ्गुर खोरको दैनिक हेरचाह उनका बुबा र आमाले गर्दै आउनुभएको छ भने बजार व्यवस्थापन र बिक्री वितरणको जिम्मेवारी आफैँले सम्हाल्दै आएका छन्।
 
बङ्गुरका पाठापाठी कैलाली–कञ्चनपुरलगायत पहाडी जिल्लामा समेत बिक्री हुने गरेका छन्। बङ्गुरपालनसँगै उनले ब्रोइलर कुखुरापालन व्यवसाय पनि सञ्चालन गर्दै आएको बताए। गाउँघरमै अवसर खोजेर मिहिनेत गर्नसके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरे। 

कमेन्ट लोड गर्नुस