सर्पदंशबाट ९ वर्षीय बालकको मृत्यु, सेती अस्पतालमा उपचारमा लापरबाही भएको परिवारको आरोप
धनगढी : कैलालीमा सर्पको टोकाइबाट एक ९ वर्षीय बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–१ का युवराज नेपालीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो। घटनापछि उपचारमा चिकित्सकको लापरबाही भएको भन्दै परिवारले आरोप लगाएपछि अस्पतालको सेवा पुनः विवादमा परेको छ।
मृतकका बुवा कृष्ण नेपालीका अनुसार सोमबार राति करिब १२ बजे शौचालय जाने क्रममा युवराजको दायाँ खुट्टामा सर्पले टोकेको थियो। तत्काल उनलाई बडैपुर स्वास्थ्य केन्द्र पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएको थियो।
परिवारका अनुसार अस्पताल पुगेपछि बालकको अवस्था गम्भीर हुँदै जाँदा पनि समयमै आवश्यक उपचार हुन नसकेको आरोप छ। उपचारमा ढिलाइ र लापरबाही भएको दाबी गर्दै परिवारका सदस्यहरूले अस्पतालभित्रको भिडियो समेत खिचेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा र चिकित्सकीय व्यवस्थामाथि व्यापक आलोचना भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले सर्पदंशपछि बालकको अवस्था गम्भीर बनेको र उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरे।
मृतकका बुवा कृष्ण नेपालीले बिरामीको अवस्था बिग्रँदै जाँदा उपचारमा लापरबाही भएको भन्दै भिडियो खिचिएको बताए। उनका अनुसार भिडियो खिच्ने क्रममा परिवारका सदस्यहरूमाथि हातपात समेत भएको थियो।
यता, सेती प्रादेशिक अस्पताल प्रशासनले भने बालक अस्पताल आइपुग्दासम्म अवस्था अत्यन्तै गम्भीर रहेको र चिकित्सकले आवश्यक उपचार गरिरहेको अवस्थामा निधन भएको जनाएको छ। अस्पताल प्रशासनले अनुमति बिना अस्पतालभित्र भिडियो खिच्न नपाइने कानुनी व्यवस्था भएकाले भिडियो खिच्न रोकिएको स्पष्ट पारेको छ।
मृतक बालकको शव परिवारले बुझिसकेको छ। युवराज परिवारका एकमात्र छोरा थिए। उनको निधनपछि परिवारमा बुवा र एक दिदी मात्र रहेका छन्। परिवारको आर्थिक अवस्था समेत कमजोर रहेको जनाउँदै स्थानीयस्तरबाट सहयोगका लागि पहल थालिएको बताइएको छ।
घटनापछि उपचार प्रक्रियाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासी तथा परिवारले गरेका छन्।