डाक्टर केसी व्यक्तिगत 'इगो' लाई विश्वविद्यालयसँग सौदाबाजी गर्दै
धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको राजीनमाको माग राखेर बिहीवारदेखि धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसीले अनशनकै दौरान गेटामा तीन सय शय्याको अस्पताल पूर्ण क्षमतामा चल्नुपर्ने र मेडिकल विश्वविद्यालय चल्नुपर्ने मागसमेत थपेको विवरण सार्वजनिक भएका छन्।
डाक्टर केसीले अस्पताल चल्नुपर्ने माग अहिले राखे पनि विश्वविद्यालयले भने गत चैतमै गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरिएको पाइएको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गत चैत २५ गते गेटामै बसेको सिनेट बैठकले तीन सय शय्याको अस्पतालको दरबन्दी स्वीकृत गरेको हो।
संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत भएसँगै विश्वविद्यालयले प्राध्यापक, सहप्रध्यापक र उपप्राध्यापकका लागि विज्ञापन गरेको थियो। बिचमा सरकारले अध्यादेश ल्याएर उपकुलपति र रजिस्ट्रार हटाएकाले भर्ना प्रक्रिया अवरुद्ध भएको थियो।
सरकारले असार ३१ गते उपकुलपतिमा डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रारमा डाक्टर भिमबहादुर चन्दलाई नियुक्त गरेको हो भने असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयमातहत रहेको गेटा अस्पताललाई स्वीकृति दिएको थियो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गेटा अस्पताललाई विश्विविद्यालय मातहत ल्याउन हस्तान्तरण गर्ने योजना थियो। स्वास्थ्य मन्त्रालयले साउन ६ गते विश्वविद्यालयलाई परिपत्र गर्दै अस्पताल हस्तान्तरण गर्न स्वास्थ्य मन्त्री निशा महतो साउन ९ गते शनिवार जानकारी दिएको थियो।
डाक्टर केसीले धनगढी आएर साउन ७ गतेदेखि नै अनशन थालेका कारण स्वास्थ्य मन्त्री मेहताको सुदूरपश्चिम भ्रमण रद्द भयो। जसका कारण औपचारिक रुपमा अस्पतालाई विश्वविद्यलय मातहत ल्याउने कार्य प्रभावित बन्यो।
गेटामा अविलम्ब तीन सय सय्याको अस्पताल चलाउनु पर्छ भन्ने डाक्टर केसीले अस्पतालको हस्तान्तरण प्रक्रिया नै अवरुद्ध गरेका छन् भने प्रशासनिक नेतृत्वलाई हटाउनुपर्ने माग अगाडि सारेका छन्।
डाक्टर केसीले एकातिर अस्पताल सञ्चालन हुनुपर्छ र मेडिकल विश्वविद्यालय चल्नुपर्छ भनेका छन् भने अर्कोतिर सरकारले गरेको नियुक्ति खारेज गर्नै पर्ने माग राखेका छन्। उपकुलपति र रजिष्ट्रारलाई 'माफिया' को संज्ञा दिँदै बर्खास्तीको मागबाट पछि नहट्ने अड्डी कसेका छन्।
किन छन् केसी जोशी र चन्दसँग रुष्ट?
डाक्टर केसीको हठि स्वाभावले नै उनलाई पटक-पटक अनशन बस्न बाध्य बनाएको उनको स्वाभाव नजिकबाट बुझ्नेहरूले बताउने गरेका छन्। अघिल्लो पटक सुशीला कार्की नेतृत्वको सरकारले यिनै जोशीलाई उपकुलपति नियुक्त गर्दा चुप बसेका केसी यो पटक डाक्टर भीमबहादुर चन्द रजिस्ट्रार नियुक्त भएपछि सन्किएको बताइन्छ।
सुनिल शर्माको नोवेल मेडिकल कलेजमा काम गर्ने प्राध्यापक जोशी र सुरूका दिनमा त्यही र पछि पिपुल्स डेन्टल कलेजमा सिइओ भएर काम गरेका चन्दसँग डाक्टर केसी रुष्ट छन्। नोवेल मेडिकल कलेज र पिपुल्स डेन्टल कलेज काँग्रेस नेता सुनिल शर्माको हो।
त्यहाँका प्राध्यापक जोशी र चन्द लगानीकर्ता भने होइनन्। विशुद्ध रुपमा जागिर गर्ने जोशी र चन्दले सुनिल शर्मासँग मिलेर विगतमा अनशनमा आफूलाई दुःख दिएको बुझाइ केसीको छ। यहीँ बुझाइ र 'इगो' का कारण डाक्टर केसीले जोशी र चन्दको राजीनामालाई २४ औं अनशनको मुख्य माग बनाएको डाक्टर केसीको अनशनमा सुरूदेखि नै सक्रिय रहेका तर पछिल्ला दुई/चार अनशनदेखि टाढा भएका व्यक्तिहरूले बताएका छन्।
उनीहरूले डाक्टर केसीले व्यक्तिग 'इगो' लाई मेडिकल विश्वविद्यालयको सञ्चालनसँग सौदाबाजी गर्न नहुने तर्क गरेका छन्।