सुदूर नेपाललाई विश्वसँग जोड्दै

बद्री पंगेनी र हेमन्ता भट्टराईको स्वरमा मौलिक तीज गीत "पति परमेश्वर" सार्वजनिक

२०८३ साउन ३१, ०५:१७ खबर संवाददाता

धनगढी: तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा मौलिक तीज गीत सार्वजनिक हुने क्रम बढेको छ।

यसैक्रममा गायक बद्री पंगेनी र गायिका हेमन्ता भट्टराईको स्वरमा नयाँ तीज गीत पनि सार्वजनिक भएको छ।
साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अभिनेता अविशेक खड्का, गीता ढुंगाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ। गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन्।

पछिल्लो समय तीजको मौलिकता र पर्वको मर्मभन्दा बढी तडकभडक प्रस्तुत गर्ने गीतहरू सार्वजनिक भइरहेका बेला यस गीतले भने तीजको धार्मिक तथा सांस्कृतिक भावनालाई प्राथमिकता दिएको निर्माण पक्षले जनाएको छ।

गीतमा पार्वतीले भगवान् महादेवको दीर्घायु र सुख–शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक प्रसंगलाई आधार बनाइएको छ। श्रीमान्–श्रीमतीबीचको प्रगाढ प्रेम, आपसी विश्वास र पारिवारिक सुख–शान्तिको सन्देश गीतमार्फत प्रस्तुत गरिएको छ।

गीतको शब्द तथा संगीत हेमन्ता भट्टराईको रहेको छ भने लोकप्रिय गायक, सर्जक तथा एरेन्जर विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन्। गीतको रेकर्डिङ काठमाडौंस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो।

भक्तपुरको गुन्डु मन्दिरमा छायांकन गरिएको गीतको भिडियोमा तीजको मौलिक संस्कृति, धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ।

हरेक वर्षझैं यस वर्ष पनि दर्शक तथा श्रोताका लागि मौलिक तीज गीत लिएर आएको बताउँदै गायिका हेमन्ता भट्टराईले गीतलाई माया, सुझाव र प्रतिक्रिया दिनुका साथै टिकटक तथा रिल्समार्फत साथ र हौसला प्रदान गर्न सबैलाई आग्रह गरेकी छन्।

उनले गीतलाई माया गर्ने, सुझाव दिने तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसारमा सहयोग गर्ने दर्शक–श्रोता नै आफूहरूको प्रेरणाको स्रोत भएको बताउँदै यसपटक पनि गीतले दर्शकको थप माया पाउने विश्वास व्यक्त गरेकी छन्।

निर्माण पक्षले गीतको अडियो तथा भिडियोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस