त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढी : त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट मालसामान बोकेर नेपाल प्रवेश गरेको गाडीले सशस्त्र प्रहरीको ब्यारेलमा ठक्कर दिँदा ब्यारेल भाँचिएको छ।
आइतबार राति भारतबाट सामान लिएर नेपाल प्रवेश गर्दै गरेको मालवाहक गाडीले नाकामा राखिएको ब्यारेलमा ठक्कर दिएको हो। अन्य गाडीको तुलनामा उक्त गाडीको आकार ब्यारेलभन्दा ठूलो भएकाले केही भाग ठोक्किएर ब्यारेलमा क्षति पुगेको त्रिनगरस्थित सशस्त्र प्रहरी गणले जनाएको छ।
भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन रातिको समयमा प्रवेश गर्ने क्रममा भएको सामान्य त्रुटिका कारण ब्यारेलमा ठक्कर लागेको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा मानवीय र अन्य क्षति भने भएको छैन।
ठक्करबाट भाँचिएको ब्यारेलको सोमबार मर्मत कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।