सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको उखुबारीमा डमरू हुर्काउँदै बाघ, त्रासमा स्थानीय !

२०८३ कार्तिक १५, ०९:०७ लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको गोदावरी नगरपालिका–६ लालपुरस्थित रामजानकी टोलमा बच्चासहितको बाघ उखुबारीमा लुकेर बसेपछि स्थानीयवासी त्रसित बनेका छन्। बाघले गाउँमै पसेर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा थप डर फैलिएको छ।

स्थानीयका अनुसार विजयादशमीको एक दिनअघिदेखि मोहनबहादुर खड्काको घरसँगै जोडिएको उखुबारीमा बाघ देखिएको हो। बच्चासहितको बाघ उखुबारीमा बसेको र त्यसले गाउँका दुईवटा कुकुर तथा एउटा बंगुर खाइसकेको स्थानीय खड्काले बताए।

एक साताभन्दा बढी समयदेखि बाघको त्रासमा रहेका टोलवासीलाई साँझपख घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ। घना उखुबारीमा बाघ लुकेर बस्ने गरेकाले कतिबेला आक्रमण हुने हो भन्ने चिन्ताले स्थानीयलाई सताएको छ।

गोदावरी नगरपालिका–६ का वडाध्यक्ष जग्गुराम चौधरीले बाघले गाउँमा बेलाबेलामा घरपालुवा जनावर मार्ने गरेको बताए। घना उखुबारीका कारण बाघले त्यहीँ आश्रय लिएको हुनसक्ने उनको भनाइ छ। बाघ नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसहित सम्बन्धित निकायलाई अनुरोध गरिसकेको उनले जानकारी दिए।

वन डिभिजन कार्यालय कैलालीका निमित्त प्रमुख रामअवतार चौधरीका अनुसार बाघको खोजी कार्य जारी छ। बाघको अवस्थिति पत्ता लगाउन ड्रोन प्रयोग गर्ने प्रयास भइरहेको छ भने सम्भावित क्षेत्रमा क्यामेरा पनि जडान गरिएको छ। बाघ फेला परेपछि उचित व्यवस्थापनसहित उद्धार गरिने उनले बताए।

वन डिभिजन कार्यालयले बाघ नियन्त्रणमा नआएसम्म सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। विशेषगरी बालबालिका एक्लै बाहिर नछाड्न र साँझबिहान अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस