सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई युवामाथि कुटपिट घटना : विरोधमा प्रदर्शन

२०८३ कार्तिक २४, ०८:०३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटामा दुई युवामाथि भएको कुटपिटको विरोधमा वनसमिति युथ फोर्सले प्रदर्शन गरेको छ। लक्ष्मी पूजाको दिन हरिश चन्द र लोकेश अवस्थीमाथि सांघातिक आक्रमण भएको र संलग्नहरू पक्राउ नपरेको भन्दै युथ फोर्सले मंगलबार विरोध प्रदर्शन गरेको हो।

वनसमितिबाट सुरु भएको विरोध र्‍याली झलारी बजार हुँदै इलाका प्रहरी कार्यालय झलारीसम्म पुगेको थियो। प्रदर्शनकारीले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सांकेतिक विरोध जनाएका थिए।

लक्ष्मी पूजाका दिन भएको कुटपिटमा शुक्लाफाँटा नगरपालिका–५, वनसमितिका हरिश चन्दको टाउकोमा गम्भीर चोट लागेको छ। उनको धनगढीस्थित केयरटेकर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। अर्का युवा लोकेश अवस्थीका दुवै हात भाँचिएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस