सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको नेतृत्व आवश्यक छ : पूर्वमुख्यमन्त्री शाह

२०८३ मंसिर १३, ०४:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पार्टीको अस्तित्व रक्षाका लागि एकजुट भएर उभिनुपर्ने बताएका छन्। आइतबार धनगढीमा आयोजित कांग्रेस इतर पक्षको कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहले कसैको दबाब, धम्की र चेतावनीबाट विचलित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।

कांग्रेस नेता गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा हुने महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै शाहले त्यस्ता चेतावनीबाट कांग्रेस कमजोर नहुने प्रतिक्रिया दिए। २००३ सालदेखि विभिन्न राजनीतिक संघर्ष र चुनौती पार गर्दै आएको कांग्रेसलाई कसैले डर र धम्की देखाएर रोक्न नसक्ने उनको भनाइ थियो। पार्टीको सिद्धान्त, अस्तित्व र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आवश्यक परे जुनसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्ने उनले बताए।

शाहले मुलुकको राजनीतिक स्थिरता, राष्ट्रिय एकता र विकासका लागि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको दाबीसमेत गरे। पार्टीलाई एकताबद्ध बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउन देउवाको नेतृत्वको विकल्प नरहेको उनको जिकिर थियो।

कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी प्रमुख अतिथि थिए। जिल्लाका १३ स्थानीय तह र पाँच निर्वाचन क्षेत्र समेटिएको अधिवेशनमा तीन हजार १६२ क्षेत्रीय प्रतिनिधि सहभागी छन्।

कमेन्ट लोड गर्नुस