धरौटीमा छुटिन् आस्था राउत
गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन्। अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउँसो रिहा गरेको छ।
प्रहरीले उनीबिरुद्ध मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो। अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र्पुयाएको छ। प्रहरीमाथि दुर्वयवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
आस्था राउत सोमबार बिहान आफै प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो। परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। गायिका राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन्। आस्थामाथि प्रहरीले बदला लिन खोजेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।