सुदूर नेपाललाई विश्वसँग जोड्दै

२२ रुपैयाँका लागि किशोरीले बेच्छन् शरीर !

२०७६ माघ २६, ०२:२२

खाने सामग्री जुटाउनका लागि किशोरीहरू २२ रूपैयाँमै यौन सम्बन्ध राख्न तयार हुन्छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। केही राम्रो आर्थिक अवस्था बनाएका महिलाहरू भने ७०–८० रूपैयाँसम्म पनि लिन्छन्।

यो अवस्था दक्षिणी अफ्रिकाका केही क्षेत्रमा छ। जो खाद्य संकटको सामना गरिरहेका छन्। रोयटर्सका अनुसार मानवीय आधारमा सहायता र्पुयाउँदै आएको अन्तर्रा्ष्ट्रिय संस्था वर्ल्ड भिजनले भोकमरीबाट ज्यान बचाउनका लागि अंगोलमा १२ वर्षदेखिका किशोरीहरू औसतमा ३० रूपैयाँमा यौन सम्बन्ध राख्न बाध्य हुने गरेको बताएको छ।

राष्ट्रसंघका अनुसार दक्षिण अफ्रिकामा साढे ४ करोड मानिस भोकको समस्या झेलिरहेका छन्। यसका पछि लामो समयको खडेरी, बाढी र आर्थिक अवस्था जिम्मेवार छ।

वल्ड भिजनले आफ्ना कर्मचारीले अंगोला, जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीको संख्यामा वृद्धि भएको देखेको उल्लेख गरेको छ । संकटका कारण यी देशमा बालविवाहको खतरासमेत बढेको छ।

अंगोलमा वर्ल्ड भिजनका आपत्कालीन निर्देशक रोबर्ट बुल्टनले भने, ‘हुन सक्छ कि यहाँका युवतीहरूले यौन सम्बन्धका लागि ७२ रूपैयाँ (स्थानीय मुद्रामा ५ सय क्वान्जा) पाउछन्। कतिपयले २९ रूपैयाँ (२०० क्वान्जा) मा पनि यौन सम्बन्ध राख्छन्।

रोबर्टका अनुसार पछिल्लो एक वर्षमा कतिपय खाद्यान्नको मूल्य दुई गुणासम्म भएको छ। जसका कारण सर्वसाधारणलाई जीवन चलाउन अत्यन्तै कठिन भइरहेको छ। अब जूनभन्दा अघि त्यहाँ खाद्य बाली तयार हुँदैन । यसका कारण समस्या थप जटिल पनि बन्न सक्छ।

जिम्बाब्बेका बारेमा केयर इन्टरनेसनल संस्थाले १४ वर्षसम्मका युवतीहरू देह व्यापार गरिरहेको उल्लेख गरेको छ। संस्थाका क्षेत्रीय लैंगिक विशेषज्ञ एभरजोए महुकुले भने, ‘कतिपय अवस्थामा देह व्यापार गर्ने युवतीले २२ रूपैयाँ मात्रै पनि पाउने गर्छन्।’
एक्सन एडका क्षेत्रीय सल्लाहकार चिकोन्डी चबुवुताले मलावी र मोजम्बिकमा पनि युवती र महिलाहरूले जबर्जस्त देह व्यापार गर्नुपर्ने उल्लेख गरेका छन्।

अफ्रिकाका केही क्षेत्रमा १९८१ पछि सबैभन्दा कम वर्षा भएको छ। जाम्बिया, मादगास्कर, नामिबिया, लेसोथो र इस्वातिनीजस्ता अफ्रिकी देशहरू यस प्रकारको संकटको सामना गरिरहेका छन्। – एजेन्सी

कमेन्ट लोड गर्नुस