साम्राज्ञी लिँदा आर्यन कति 'सेभ' ?
कुनै समय नेपाली फिल्ममा अभिनेता आर्यन सिग्देलको राम्रै बोलबाल थियो । राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, दीलिप रायमाझीका पारिवारिक फिल्म र विराज भट्ट, निखिल उप्रेतीका एक्सन फिल्म हेरेर दर्शक वाक्कदिक्क भइरहँदा लभस्टोरी फिल्म 'किस्मत' बाट उनको काँचको पर्दामा यात्रा आरम्भ भएको थियो ।
उनको आगमनसँगै नेपालमा दर्जनौं लभस्टोरी फिल्म निर्माण हुन थाले । उनलाई लिएपछि निर्माताले आफ्नो लगानी सुरक्षित भएको महशुस गर्दथे । आर्यनको प्रवेशले लभस्टोरी फिल्ममा वर्चश्व जमाइरहेका जीवन लुईटेल, सुमन सिंहलगायत केही अभिनेताको सिंहासन नै डगमगाउन थियो ।
बजारमा सर्वाधिक डिमाण्ड रहँदा उनले ५० बढी फिल्म गर्न भ्याए, कति बक्सअफिसमा चम्किए त कति पत्तासाफ भए । लभस्टोरी फिल्ममा अझै पनि आर्यन जत्तिको फिट हिरो नभएको चर्चा हुने गर्छ । तर, पछिल्लो समय 'पैसामुखी' हुँदा उनको करिअर 'ओरालो लागेको हरिणको चाल' झैँ भएको छ ।
'आवेग', 'अलविदा' जस्ता फिल्मबाट उनले आफ्नो ट्रयाक परिवर्तन गर्ने आँट गरे । लभस्टोरी फिल्ममा राम्रो डिमाण्ड भइरहँदा उनले आफूलाई एक्सन हिरोको रुपमा स्थापित गर्न कस्सिए, जुन असफल मात्र होइन आशलाग्दो फिल्म करिअरमा विष घोलियो ।
उनी अभिनीत पछिल्लो रिलिज फिल्म 'रुद्रप्रिया' हो । यसमा उनको अपोजिटमा अभिनेत्री रेखा थापा थिइन् । फिल्म 'क्लासिक' गर्दैगर्दा बाहिरी ब्यानरका फिल्म नगर्ने उद्घोष गरेका उनले 'रुद्रप्रिया' मा आफ्नो होम प्रोडक्शनको नाम झुन्ड्याएर निर्माता बने । तर, फिल्म चलेन ।
एक समयका सुपरस्टार आर्यन अहिले एक हिट फिल्मका लागि भौतारिरहेका छन् । साउन १८ मा उनी निर्मित तथा अभिनीत फिल्म 'कायरा' रिलिज हुँदैछ । यसमा उनले अहिलेकी ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेका छन् ।
समय परिवर्तनशिल छ । एकसमय आर्यनलाई लिँदा निर्माता आफूलाई सुरक्षित महशुस गर्थे । अहिले साम्राज्ञीमाथि निर्माताहरु आँखा चिम्लिएर विश्वास गर्ने गरेका छन् । के साम्राज्ञीलाई लिएर आर्यनले 'सेभ जोन' खोजेका हुन् ? 'कायरा' ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्न उब्जियो ।
आर्यनले जवाफ दिँदै भने, 'एउटा समय थियो जुनबेला आर्यन सिग्देललाई लिने वितिक्कै एकदमै सेभ हुन्छ भन्थे । त्यो बेला धेरै फिल्म डुबेका छन् । फिल्म हेरेपछि साम्राज्ञीलाई सही उपयोग गरेको लाग्नेछ । फिल्म राम्रो भए यसैपनि चल्छ 'झुर' भए जो कलाकार भएपनि केही फरक पर्दैन ।'
सोमवार दिउँसो इन्टरनेट रिलिज भएको यो फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । आर्यन र साम्राज्ञीको केमेष्ट्री सुहाएको भन्दै यूट्युबको केमेन्टमा तारिफका शब्दहरु कोरिएका छन् । अब फिल्मले हलमा दर्शकको साथ कस्तो पाउँला ? सबैको चासो केन्द्रमा छ ।