सृष्टी बनिन् चित्रकार
पूर्वमिस नेपाल सृष्टी श्रेष्ठ पछिल्लो समय चित्रको सौखिन भएकी छन् । आजकाल फुर्सदमा चित्र कोर्न थालेकी उनी विश्वका चर्चित चित्रकार भ्यान गगबाट प्रभावित भएकी छन् । आफूलाई चलचित्र ‘रोमियो एन्ड मुना’ले चित्रकार बनाएको यी अभिनेत्रीले खुलासा गरेकी हुन् । यी अभिनेत्रीले भनिन्, ‘म आजकाल चित्रप्रेमी भएकी छु, आफ्नै हिसाबले चित्र कोर्छु र चित्रसम्बन्धी अध्ययन पनि गर्छु ।’ आगामी १८ साउनबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र रोमियो एन्ड मुनामा यी अभिनेत्री चित्रकारको भूमिकामा प्रस्तुत हुँदै छिन् । त्यो पनि विश्व प्रसिद्ध चित्रकार भ्यान गगको प्रशंसकका रूपमा । चलचित्रमा यी अभिनेत्रीले भ्यान गगको चित्र कोरेको समेत दर्शकले देख्न पाउनेछन् ।
एउटा चित्रकारको भूमिका निर्वाह गर्न उनलाई त्यति सजिलो नभएको सुनाउँदै उनले भनिन्, ‘जसका लागि मैले ६ महिना पूरा समय दिएर चित्रकलासम्बन्धी प्रशिक्षण लिएँ, त्यसपछि पनि निरन्तर घरमा अभ्यास गरेर एउटा चित्रकारका रूपमा आफूलाई सिनेमामा प्रस्तुत गर्न सकेकी छु ।’
यी अभिनेत्री चित्रकार भ्यान गगबाट प्रभावित हुनुको कारण पनि सृष्टिले भनिन्, ‘सन् १८५३ मा जन्मिएका चित्रकार भ्यान गगले आफ्नो समयमा यस्ता चित्र बनाए पनि ती चित्र नबुझेकै कारण कति पनि बिक्री भएनन् । चित्र बिक्री नभएर जीवन धान्न गाह्रो भएपछि डिप्रेसनमा गएकी उनले पछि आत्महत्यासमेत गरे । भ्यान गगले बनाएका ती चित्र उनको मृत्यपछि सर्वाधिक लोकप्रिय भएको र आउँदो समयभन्दा धेरै अघि उनले कलात्मक चित्र बनाएकै कारण संसारकै चित्रप्रेमी उनको फ्यान भएको पनि सृष्टिले बताइन् ।
आफ्नो कानसमेत काटेर प्रेमिकालाई दिएका चित्रकार भ्यान गगबाट प्रभावित भएर उनका चित्रलाई आफूले क्यानभासमा उतार्ने कोसिस गरेको पनि सृष्टिले बताइन् । उनले भनिन्, ‘चलचित्र रोमियो एन्ड मुनासँगै अर्को चलचित्र लाउरेमा पनि म चित्रकारकै भूमिकामा छु, भ्यान गगको चित्रप्रेमीको भूमिका रोमियो एन्ड मुनामा निभाउने क्रममा उनका बारेमा लन्डन गएर अध्ययन गर्दागर्दै म भ्यान गगको फ्यान र चित्रप्रेमी भएकी हुँ ।’
चलचित्रमा चित्रकारको भूमिका निर्वाह गर्दा आफ्नो जीवनमा आएको परिवर्तनबारे यी अभिनेत्रीले यसरी खुलासा गरिन् । भ्यान गगको जीवन कथा अत्यन्त पीडादायी भएको र यस्तो अवस्थामा पनि उनले उत्कृष्ट सिर्जना आउँदो पुस्तालाई दिएका कारण आफू भ्यान गगको फ्यान भएको पनि यी अभिनेत्रीले बताइन् । उनी भन्छिन्, ‘उहाँका हरेक चित्र उत्कृष्ट छन् र अहिले विश्वकै सर्वाधिक महँगोमा उहाँका चित्र लिलाम हुने गरेका छन्, भ्यान गगका चित्रबाट प्रभावित भएकै कारण रोमियो एन्ड मुनाको एउटा गीतमा पूरा भ्यान गगकै चित्रलाई भीएफएक्स गरेर राखिएको छ ।’
नरेश केसीले निर्देशन गरेको चलचित्र रोमियो एन्ड मुनामा विनय श्रेष्ठकी नायिकाका रूपमा सृष्टि देखिँदै छिन् । पूर्वमिस नेपाल सृष्टिले अनमोल केसीको जोडी भएर चलचित्र गाजलुमार्फत तीन वर्षअघि चलचित्र यात्रा सुरु गरेकी हुन् । गाजलुमा अनमोलसँग जोडी जमेजस्तै रोमियो एन्ड मुनामा पनि विनयसँग आफ्नो जोडी जम्ने विश्वास यी अभिनेत्रीको छ । गाजलुमा एउटी सोझी युवतीको भूमिका निर्वाह गरेकी सृष्टिले आफू चित्रकारका रूपमा भए पनि मानसिक समस्या झेलिरहेकी एक गाउँले युवतीको भूमिका रोमियो एन्ड मुनामा निर्वाह गरेको पनि खुलाइन् । उनलाई यो चलचित्रमा भ्यान गगको प्र्रशंसक चित्रकार मुनाको भूमिकामा दर्शकले देख्न पाउनेछन् ।