‘चिँ मुसी चिँ’ को ट्रेलर सार्वजनिक
साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । असार १५ अर्थात् दही चिउरा खाने दिनको शुभकामना दिँदै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा सुनिल क्षेत्री र अलिशा शर्मा बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । अभिनेता सुशान्त कार्की सिआइबी अफिसर्सको भूमिकामा प्रस्तुत छन् । कमर्शियल शैलीको ट्रेलर मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साईज र साउन्ड डिजाईनका हिसावबाट हेर्दा यो फिल्मको ट्रेलर पर्फेक्ट बनेको छ ।
एकअर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ‘चिँ मुसी चिँ’ भनेर चिन्ने गरिन्छ । यहि आधारमा फिल्मको कथामा पनि केहि त्यस्तै घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ । त्यो हानाथापको केन्द्रमा नायिका हुन की भन्ने अनुमान ट्रेलरबाट गर्न सकिन्छ ।
यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलमा नयाँ स्वादको फिल्म बनाएका छौँ, ट्रेलरमा जेजति दृश्य छन् यि दृश्यहरुले त्यसलाई प्रष्ट पारेको छु निर्देशक श्रेष्ठले बताए । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् ।
यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।