सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना जोखिम क्षेत्रका सबैको परीक्षण गर्ने तयारी

२०७७ वैशाख ३, १२:५९ जनक विष्ट

सुदूरपश्चिममा विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस( कोभिड–१९) को जोखिममा रहेका समुदाय तथा क्षेत्रमा परीक्षणलाई तिव्रता दिने दावी गरिएको छ।  प्रदेशमा कोभिड–१९ का संक्रमित बढ्दै गएमा उपचारमा समस्या हुने देखिएका बेला उक्त तयारी थालिएको दावी गरिएको हो।

मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षमा बसेको बैठकले भने समुदाय स्तरमै स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै नमूना संकलन गरी परीक्षणलाई तिव्रता दिने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले गाउँलाई नै कोरोना मुक्त बनाउने गरी अभियान सञ्चालन गर्ने समझदारी भएको बताए।

‘मंगलबार हामी मुख्यमन्त्री ज्यूसँगको छलफलमा बस्यौँ। अब गाउँलाई नै कोरोना मुक्त बनाउने रणनीतिमा जाने निर्णय लिएका छौँ।’ कार्कीले भने, ‘धनगढीमै प्रयोगशाला स्थापना भईसकेको छ। अब समुदाय स्तरमा परीक्षणको मात्रा बढाउने निर्णयका गरिएको छ। तर नमूना संकलनका लागि चाहिने भीटीएम र अन्य केमिकलका लागि नेपाल सरकारलाई अनुरोध गर्ने र शंकास्पद व्यक्तिहरुको परीक्षण बढाउने। भारत सहितका मुलुकबाट आएकाहरुमाथि कडा निगरानी राख्ने तयारी गरेका छौँ।’

प्रदेशका विभिन्न जिल्लामा जोखिमपूर्ण क्षेत्र पहिचान गरेर परीक्षणका काम सुरु गर्ने भनिएपनि त्यसको संरचना के हुने भन्ने कुराको समेत टुङ्गो लाग्न सकेको छैन्।

अहिले छलफलकै क्रममा रहेकाले छिट्टै सो विषयमा निर्णय लिदै काम थालिने दावी सामाजिक विकास मन्त्रालयको छ। सुदूरपश्चिम अहिले सम्म कैलाली र कञ्चनपुरमा पाँच जना कोरोना संक्रमित भेटिसकेका छन्।

उनीहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। 

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस