सुदूरपश्चिममा सर्पदंशका विरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता कायमै
धनगढी : सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको टोकाईबाट वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अझै कायमै रहेको छ। प्रदेशमा रहेको स्वास्थ्य संस्थाहरुमा सर्पले डसेका सर्पदंशका विरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता कायमै रहेको हो।
गर्मी र वर्षायाममा सर्पदंशका विरामीको संख्या बढ्ने हुने भएपनि अस्पतालहरुमा उनीहरुको उपचारका लागि छुट्टै केन्द्र व्यवस्थापन नहुँदा समस्या भएको हो। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको सन्त्रास कायमै रहेका बेला सुरु भएको गर्मी मौसम सुरु भएसँगै शर्पदंशका विरामी पनि देखिन थालेका छन्।
सुदूरपश्चिमका विभिन्न जिल्लामा चैत यतादेखि नै शर्पदंशका विरामी उपचारका लागि अस्पतालहरुमा पुग्न थालेपनि पर्याप्त एन्टी स्नेक भेनम र भेन्टिलेटर आईसियु लगायतका उपकरण नहुँदा झनै समस्या हुने भएको छ। कञ्चनपुरको महाकाली अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले गर्मी सुरु भएपछि शर्पदंशका विरामी आउन थालेको बताए।
समान्य बिरामीलाई महाकालीमै उपचार सेवा उपलब्ध भएपनि बिषालु सर्पले टोकेका बिरामीलाई भने अन्यत्रै रेफर गर्नुपर्ने बाध्यता कायमै छ। अस्पतालमा अहिले एन्टी स्नेक भेनमको समेत अभाव छ। तीन चार जना विरामीको उपचारका लागि भेनम उपलब्ध भएपनि थप आपूर्ती गर्ने काम भईरहेको सूचना अधिकारी भट्टले जानकारी दिए।
सुदूरपश्चिममा सर्पले डसेपछि उपचार नपाएर वर्षेनी धेरैले अकालमै ज्यान गुमाउने गरेका छन्। प्रदेशमा सर्पदंशका विरामीको उपचारका लागि छुट्टै उपचार केन्द्रको समेत स्थापना हुन सकेको छैन्। धनगढीको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल सहित अन्य जिल्ला अस्पताललाई पनि निःशुल्क उपलब्ध हुने एन्टी स्नेक भेनम वितरण गरिदै आएको छ।
तर अस्पताल मध्ये सेती अस्पतालमा मात्र पाँच वेडको आईसियुर सेवा उपलब्ध छ तर प्रदेशका नौ वटै जिल्लाबाट गम्भीर प्रकृतिका विरामी सेतीमै आउने गरेका कारण प्रायजसो आईसियु खाली नहुने गरेको अस्पतालले बताउँदै आएको छ। कतिपय अवस्थामा आईसियुमा राख्नु्पर्ने गम्भीर प्रकृतिका विरामी अन्यत्र समेत रेफर गरिदै आएको छ।
तैपनि तराईमा केही सहज हुने गरेपनि पहाडी जिल्लामा भने भौगोलिक विकटता, आईसियु सेवाको अभाव लगायतका कारण सर्पदंशको उपचार नपाई अकालमै ज्याउन गुमाउनुपर्ने बाध्यता छ। सेती प्रादेशिक अस्पतालले सर्पदंशका विरामीको उपचारका लागि आवश्यक पर्ने एन्टि स्नेक भेनम र आईसियु सेवाको उपलब्धता भएपनि चाप बढि भएमा समस्या हुने जनाएको छ।
अस्पतालको आकस्मिक विभागका इन्चार्ज कृष्ण बोहराले गर्मी सुरु भएयता चैतमा मात्र चार जना सर्पदंशका विरामीले उपचार सेवा लिएको जानकारी दिए। त्यसमध्ये एकजना विषालु र अन्य तीन कम विषालु सर्पले टोकेका विरामी रहेको बताए। गर्मी र वर्षातका बेला सर्पदंशका विरामी बढ्ने भएकाले अस्पतालसँग तत्काल दुई सय भाईल एन्टी स्नेक भेनम तयारी अवस्थामा राखएिको उनले बताए।
उक्त मौज्दात रहेको एन्टी स्नेक भेनमले २० जना विरामीको उपचार गर्न सकिन्छ। गम्भीर प्रकृतीका विरामीको लागि आईसियु सेवा समेत तयारी अवस्थामै राखिएको बोहरा बताउँछन्। सर्पले डसेपछि पक्षघात हुने प्रवल सम्भावना हुने हुँदा सघन उपचार कक्ष आईसियु अनिवार्य चाँहिने चिकित्सकले बताउँदै आएका छन्।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सिद्धान्त अनुसार विरामीलाई औषधी दिने गरिएको छ। तर बढि विषालु सर्पले टोकेका विरामीको हकमा लामो समय सम्म अस्पताल राख्नुपर्ने स्थिती आउँने हुँदा सबै अस्पतालमा आवश्यक पूर्वाधारको उचित प्रवन्ध हुन जरुरी भएपनि त्यसो हुन सकेको छैन्।
प्रदेश सरकारले सर्पदंशका विरामीको उपचारका लागि छुट्टै व्यवस्था गर्ने दावी गरेपनि अहिले सम्म कार्यक्रम सुरु हुन सकेको छैन्। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सर्पदंशको कार्यक्रम अहिले अगाडी बढ्न नसकेको बताए। तर कार्यान्वयनको चरणमा लैजाने तयारी भएको दावी गरे।
सुदूरपश्चिमका कुनै पनि सरकारी अस्पतालमा अहिले सम्म छुट्टै सर्पदंश उपचार केन्द्र स्थापना हुन सकेको छैन्। तर नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण र श्री नं २५ वाहिनी अन्तरगत कञ्चनपुरको अर्जुनीमा रहेको देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ।