तिमीले के देख्यौ त ?
हिक्मत शाही
तिमीले कोसी ब्यारेजमा
बाँध देखेनौ
शारदाब्यारेजमा फेरिएको नयाँ
साँध देखेनौ
अनि के देख्यौ त ?
तिमीले हिजो :
पूर्वमा टिष्टा देखेनौ
पश्चिममा काँगडा देखेनौ ,
नालापानी मात्रै हो र
हँदाहुँदा आज
कालापानीको फेरिएको अस्तित्व देखेनौ
अनि के देख्यौ त ?
लिपुलेक कता छ ?
लिम्पियाधुरा कता छ ?
पशुपतिनगरसँगै फेरिएको
सुस्ता कता छ ?
सिमाना फेरियो
साँध फेरियो
अभागीहरुको थातबास फेरियो,
सिमानामा तिमीले
खुम्चदै गरेको दशगजा देखेनौ
अनि के देख्यौ त ?
कुमाउ उतै
गडवाल उतै
जैथक गढी अनि
मलाउको किल्ला उतै
बल ढले ठीकै छ
भक्ति ढले ठीकै छ
सीमानामा ढलेका गौतमहरु देखेनौ
अनि के देख्यौ त ?
सीमापारी रुनेहरु कति छन्
आफ्नै सीमामा अनागरिक भएर
बाँच्नेहरु कति छन्,
आफ्नै देशभित्र परचक्रीले
न सडक बनाएको देख्यौ
न ढल बनाएको देख्यौ
काली झर्दैछ पूर्वतिर
मेची सर्दैछ पश्चिमतिर,
धेरै दिन भैसक्यो
सीमानामा लडेको जङ्गेपिलर देखेनौ
अनि के देख्यौ त?
थातबास खोसिदैछ कतै
गासबास खोसिदैछ
राष्ट्र खोसिदैछ कतै
राष्ट्रियता खोसिदैछ कतै
न परचक्रीले
नयाँ नक्सा कोरेको देख्यौ
न आफ्नै देशको भुगोल चोरेको देख्यो
आफ्नी आमाका छातीमा बुट बजारेको देखेनौ
अनि के देख्यौ त ?
(लेखक–पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन्।)