लगालग तीन फिल्मको प्रेस सो
अधिकांश फिल्म पत्रकार शुक्रबार दिनैभरि कुमारी हलमा व्यस्त रहे । कारण थियो, लगालग तीन फिल्म ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को प्रेस सो ।
शुक्रबारदेखि मिस्टर भर्जिन, ब्ल्याक, जय शम्भु र बाह्रमासे गरी एकसाथ चारवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । चारमध्ये तीन फिल्मले एकैदिन प्रेस सो आयोजना गरे । पत्रकारलाई भ्याई–नभ्याई भयो ।
बिसारद बस्नेत निर्देशित मिस्टर भर्जिनको कुमारी हलमै बिहान साढे ८ बजे सो राखिएको थियो । त्यसपछि साढे ११ बजे प्रदीप श्रेष्ठको निर्देशित ब्ल्याक र साढे २ बजे रूपेश थिङ निर्देशित जय शम्भु प्रदर्शन गरियो ।
आकाश श्रेष्ठ, आयुष रिजाल, आचल शर्मा, सुशील क्षेत्री अभिनीत ब्ल्याक एक्सन लभस्टोरी फिल्म हो ।
त्यसैगरी, गौरव पहाडी, कमलमणि नेपाल, विजय बराज, मरिस्का पोखरेललगायत कलाकार अभिनीत मिस्टर भर्जिन यौनप्यासी युवाको अधुरो चाहना प्रस्तुत गरिएको फिल्म हो भने वर्षा सिवाकोटी, अनुपविक्रम शाही र प्रशान्त ताम्राकार मुख्य भूमिकामा रहेको जय शम्भु पनि एक्सन लभस्टोरी फिल्म हो ।
तीनवटै फिल्मले शुक्रबार औसत व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ ।