स्वदेश महिमा
खोला र नाला भीर र पाखा सम्पदा अपार
पौरखी हात नेपाली शान देख्नेछ संसार
अमीर देश नेपाल हाम्रो जगत भरिमा
हिमाल चुली नदी र नाला हुन् हाम्रा गरिमा
पुर्खाको आँगन टल्काऔं साथी पौरखी बनेर
जहान छोडी विदेश गई नफालौं जोवन
हिमाल हाम्रो शिरको टोपी मधेश पैतला
पहाड हाम्रो छाती हो भन्छौं बटुल्दै चेतना
फूलको थुङ्गा सुवास छर्छ बगंैचा भरीमा
नेपाली वीर एकता खोज्छ छिमेकीहरूमा
मिलेर बस्छौं नेपाली हामी एक र अनेक
भत्काई दिन्छौं वैरीको चाल आपसमा मिलेर
पौरख हाम्रो घटेको छैन बुझ है वैरी हो
भावन हाम्रो विशाल छ है छिमेकी साथी हो
दुःखमा पर्दा उभिन्छौं हामी अडिक भएर
नपरोस् बाँच्न कहिल्यै पनि स्वाभिमान बेचेर
वचन राख्न जीवन दिने नेपाली शान हो
हिमाली भाइ पाहाडी भाइ मधेशी भाइ हो
मिलेर लडौं गरिवीसंग आउने छ समृदि
एकताबध्द भएमा हामी हुने छौं विजयी
जात र जाती बिभिन्न वर्ग महिला पुरूष
अखण्ड देश अखण्ड मन एकता अखण्ड
मिलेर बस्छौं नेपाली हामी नेपाल भरिमा
जुटेर बसे फैलिन्छ शान संसार भरीमा
आमाको आशीष शिरमा राखी अगाडी बढ्नुछ
गरेर काम जीवनमा यहाँ उन्नती गर्नु छ
विकास हुन्छ संबृदि हुन्छ पाईला चालेर
पौरखी हात अगाडी बढे चिन्ने छ संसार