नियमित औषधि सेवन नगर्दा संक्रमितको मृत्यु दरमा वृद्धि
कैलालीमा एचआईभी संक्रमितहरूले नियमित रूपमा औषधि सेवन नगर्दा हरेक वर्ष मृत्युदरमा बृद्धि भइरहेको तथ्यांकहरूले देखाएका छन्। कैलाली जनस्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा ३३ जना एचआईभी संक्रमितको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार सन् २००६ देखि सन् २०१८ को अक्टोबर महिनासम्म एचआइभी संक्रमित तीन सय जनाको मृत्यु भइसकेको छ। तीमध्ये दुई सय सात जना वयस्क पुरुष, ७६ जना महिला र ११ जना बालिका रहेका छन्। सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन नगर्नु तथा एचआइभी संक्रमितलाई अन्य रोगले संक्रमण गर्नु लगायतका कारण मृत्युदरमा वृद्धि भइरहेको छ। ’नियमित रूपमा औषधि सेवन गर्ने हो भने एचआइभी संक्रमितको जीवन निकै लामो हुन्छ’ डाक्टर कमरले भने– ’तर, धेरैजसो केसमा संक्रमितले नियमित रूपमा औषधि सेवन गरेको पाइदैन।’
कैलालीमा गत आर्थिक वर्षमा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जनामा एचआइभी पोजेटिभ देखिएको थियो। त्यस्तै, चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म छ सय ९३ जनाको रगत परीक्षण गरिएकोमा पाँच जनामा एचआइभी पोजेटिभ देखिएको छ। कैलाली जिल्लामा हालसम्म एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) सेवा लिनेको दर्ता संख्या दुई हजार पाँच सय ६० रहेको कैलाली स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये वयस्क पुरुषको संख्या एक हजार एक सय ५० रहेको छ भने एक हजार एक सय ८३ जना महिला रहेका छन् । कार्यालयले दिएको तथ्यांक अनुसार १५ जना युवा, एक सय १५ जना बालक र ९७ जना बालिकाले एआरटी सेवा लिइरहेका छन् । त्यस्तै, हालसम्म एआरटी सेवा अन्तर्गत औषधि सेवन गरिरहेकाहरूको संख्या एक हजार दुई सय ६१ रहेको छ । तीमध्ये चार सय ८४ जना पुरुष र छ सय ५४ जना महिला रहेका छन्।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लाइन औषधी खाने एचआइभी विरामीको संख्या ७५ रहेको छ। तीमध्ये ५३ जना युवा र २२ जना बालक रहेका छन्। कैलाली सहित देशभरी एचआइभी संक्रमितको पहिचान गर्ने दरमा कमी आए पनि एआरटी सेवा लिनेको संख्यामा बृद्धि आएको छ। जनस्वास्थ्य निरिक्षक महेश चन्दका अनुसार एचआइभी संक्रमितको पहिचान गर्ने संख्या घट्दै गएको छ। जनस्वास्थ्य निरीक्षक चन्दका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा तीन हजार ६५ जनाको रगत परीक्षण गरिएकोमा एक सय चार जनामा पोजेटिभ देखिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७३र७४ मा छ हजार तीन सय ३० जनाको रगत परीक्षण भएकोमा एक सय १७ जनामा एचआइभी पोजेटिभ देखिएको थियो भने गत आर्थिक वर्ष २०७४÷०७५ मा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जना संक्रमित भएको फेला परेको थियो।
देशभरी एचआईभी संक्रमण दरलाई सरकारले विभिन्न कार्यक्रम गरिरहेको जनाइएको छ। रगत परीक्षण, एआरटी सेवा लगायतका विभिन्न कार्यक्रम गर्दै आएको कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले बताए । उनका अनुसार कैलालीमा सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा एआरटी सेवा सञ्चालन भइरहेको छ। यस्तै, १ डिसेम्बर अर्थात् (१५ मंसिर) मा मनाईन लागेको विश्व एचआई एड्स दिवसलाई कैलालीमा भव्यताका साथ मनाइने भएको छ । दिवसको पूर्व सन्ध्यामा रगत परीक्षण, कण्डम वितरण, सरोकारवालाहरूसँग अन्तरक्रिया लगायतका क्रियाकलाप गरिने जनाईएको छ।