सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तमा शिक्षक दरबन्दी मिलानमा विवाद

२०७८ असोज १५, ११:३३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले कार्यविधि, नीति, नियम विपरीत शिक्षक दरबन्दी मिलान गरेको भन्दै नेपाल शिक्षक संघ साउन ३ गतेदेखि नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरी रिले अनसनमा बस्यो। 

निति, नियम विपरीत गरिएका दरबन्दी नियमानुसार गरिनुपर्छ भन्ने मागसहित ३२ दिनसम्म शान्तिपूर्ण रिले अनसनमा बसेर आन्दोलन गरेको शिक्षक संघका मागको भीमदत्त नगरपालिकाले कुनै सुनुवाई नगरेपछि भदौ ४ गते शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई ऐक्यवद्धता जनाउन नेपाली काँग्रेस कञ्चनपुर समेत नगरपालिका पुग्यो। 

नगरपालिकाको मुलद्वारमा तालाबन्दी गरेर शिक्षकहरु र उनीहरुलाई साथ दिन आएको काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ता शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा घुसपैठ भएर प्रहरीबीच झडप भयो। झडपमा परी शिक्षक तथा प्रहरी गरी झन्डै २० जना घाइते भए। 

उक्त घटनापश्चात प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको रहोवरमा र भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्द, कार्यपालिका सदस्य कृष्ण सिंह देउवा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, नेपाल शिक्षक संघ कञ्चनपुर जिल्ला सचिव नवीन सिंह धामीको उपस्थितिमा नगर कार्यपालिका सदस्य तथा प्रवक्ता चन्द र देउवाको रहोबरमा नगरभित्र क्रियाशील शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधी र शिक्षा शाखा समेतको प्रतिवेदन तयारी समिति गठन गरी सो समितिले बनाएको प्रतिवेदनको आधारमा समस्याको समाधान खोज्ने गरी शिक्षा शाखा र नेपाल शिक्षक संघबीच सहमति भयो। 

सोही अनुसार कार्यदल (प्रतिवेदन तयारी समिति)ले भीमदत्त नगरपालिकाले कार्यविधि, नीति, नियम विपरीत शिक्षक दरबन्दी मिलान गरेको प्रतिवेदन भदौ २३ गते नगर प्रमुख सुरेन्द्र विष्टलाई बुझाइसकेको छ। कार्यदलले प्रतिवेदन बुझाएको ३ साता बितिसक्दा पनि नगरपालिकाले अझै कुनै सुनुवाई नगरेको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नवीन सिंह धामीले बताए। 

‘नगर प्रवत्ता चन्द, कार्यपालिका सदस्य देउबाको रहोबरमा नेपाल शिक्षक संघका ज्ञानु देउवा, नेपाल राष्ट्रिय शिक्षक संगठनका दिवाकर जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका वीरेन्द्र भट्ट, अखिल नेपाल शिक्षक संगठनका पुस्पमणी जोशी र शिक्षा शाखा प्रमुख हरि जोशी समेत रहेको कार्यदलको प्रतिवेदनले पनि नगरपालिकाले नीति, नियम मिचेर दरबन्दी मिलान गरेको प्रष्ट जनाएको छ’, धामीले भने। 

बिहीबार पत्रकार सम्मेलनमा सचिव धामीले  भने ‘नगर प्रमुखलाई त्यो प्रतिवेदन बुझाएको ३ साता बितिसक्दा पनि उक्त गलत निर्णय सच्याउनुको साटो पुनः मनमानी तरिकाले एकलौटी रुपमा निर्णय गर्न नगरपालिका लागेको छ।’ उनका अनुसार कार्यदलको प्रतिवेदन अनुसार नगरपालिकाले दरबन्दी मिलानमा भएको गल्ति नसच्याए नेपाल शिक्षक संघ कानुनी उपचारमा जानेछ।

यता भीमदत्त नगरपालिकाका प्रवत्ता चन्दले प्रतिवेदमा आएका राम्रा सुझाव र दरबन्दी मिलानका क्रममा भएका केही त्रुटि नगरपालिकाले यथाशीघ्र सच्याउने बताए। ‘प्रतिवेदनमा आएका सुझाव नगरपालिकाले कार्यान्वयन गर्छ।’ प्रवक्ता चन्दले भने ‘तर सबै कुरा प्रतिवेदनअनुसार भने हुँदैन।’

कमेन्ट लोड गर्नुस