सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा गजल मार्फत समर्पणले भने, प्रदेश समृद्ध बनाउँ

२०७५ माघ २४, ०६:४८ खबर संवाददाता

सुदूरपश्चिमको समृद्धिका लाथि आर्थिक समृद्धि भन्ने नारा सहित सुरु भएको सुदूरपश्चिम महोत्सवमा गजलकार डिल्लीराज ओझा समर्पणले पनि आज गजल वाचन गरेका छन्। महोत्सवको नारा जस्तै उनले पनि आफ्ना गजलमा प्रदेश समृद्ध बनाउन आग्रह गरे। 

नेता, विज्ञ व्यवसायी सब मिलेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ,
पछि समय जानेछ घर्केर आउनुहोस प्रदेश समृद्ध बनाउँ ।

विद्युत उत्पादन गरि निर्यात गरौं न समयमै,
सेती, महाकाली जाँदैछन् खेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ ।

हिमालमा यार्सा, स्याउ पहाडमा ओखर सुन्तला छदैंछन,
तराईमा उखु, आपँ लिची रोपेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ ।

काम गर्ने बोल्दैनन् गर्छन्, नगर्ने दिनहुँ बोल्छन् गदैनन्,
नबसौं तेरो मेरो गरेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ ।

धनगढी र आसपासका क्षेत्रमा साहित्यिक गतिविधिमा विगत केहि बर्षयता सक्रिय रहेका समर्पण झण्डै एक बर्ष अगाडि आयोजना भएको धनगढी साहित्य साझको एकल बाचनबाट झनै चर्चामा आएका थिए। उनी लगायत युवा साहित्यकारहरुको अगुवाईमा साहित्य साँझ आयोजना हुँदै आएको छ। उनले महोत्सवमा गजल बाचन गर्दै गर्दा माया पिरतीको प्रसंग छुट्ने त कुरै भएन्। 

खास त बसाउने मन हो चर्खामा के गर्नु,
हरपल बसेकी हुन्छौं आँखामा के गर्नु ।

तिमी अगाडि उभिदा सबथोक बिर्सिने रहेछु,
गर्न त गर्छु भनेर आउँछु हङ्गामा के गर्नु ।

चोखो प्रेम गर्नेले दिलमा लेख्न सक्नुपर्छ,
मात्र लेखेर आइ लभ यु भित्तामा के गर्नु ।

श्रीमती सेल्फी खिच्नमै ठिक्क अनि के गरुन बिचरा,
श्रीमान् मन नलगाई जान्छन्  भान्सामा के गर्नु ।

पढियो बढियो अचेल माइक समाउने भईयो,
यी बलुन फुटाउने रहर थ्यो बच्चामा के गर्नु ।

समर्पणले गजल बाचन गर्दा धेरैले ताली बजाएर साथ दिएका थिए। 

कमेन्ट लोड गर्नुस