गठबन्धन सरकार मृत भइसक्योः ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार मृत भइसकेको बताएका छन्। उनले यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने तर्क गरे। काठमाडौँमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले चुनावअघि सरकार परिवर्तन गर्नुपर्ने आशय व्यक्त गरेका थिए। यद्यपि, उनले यो सरकारको विकल्प भने अघि सारेनन्।
ओलीले भने, ‘यो सरकार निष्प्राण र डेड भइसक्यो। देशका लागि मृत भइसक्यो। सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन। शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ ?’ ओलीले यो परमादेशी सरकारको अब कुनै अर्थ नभएको भन्दै आफ्नो पार्टी सकेसम्म सहमतिको बाटोमा जान चाहेको बताए।