सभापतिले काम नगर्दा हामीमाथि दोष आउन थाल्योः गगन थापा
काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले समयमै आफ्नो भूमिका निभाउन नसक्दा आफूहरूमाथि दोष आउन थालेको बताएका छन्। शनिबार केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले सभापतिले काम नगर्दाको दोष आफूहरूमाथि आउन थालेको बताएका हुन्।
‘महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ। तर, महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयो गर्न खोजेकै थियौँ,’ महामन्त्री थापाले भने, ‘तर हामीले सल्लाह र परामर्श दिँदा दिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नुभएन, त्यसको दोष हामीहरूमाथि आउन थालेको छ।’ महामन्त्री थापाले सभापति बलियो भएमात्रै पार्टी बलियो हुने भन्दै आफूले पनि सभापतिलाई बलियो बनाउन चाहेको बताए।