सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुनमा तीन चलचित्र प्रदर्शन हुँदै 

२०७९ माघ २९, ०५:१३ खबर संवाददाता

काठमाडौंः फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ।

विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरे पनि स्वदेशी दुई चलचित्र भने जुँध्ने भएका छन्। फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शन हुँदै छन्। यस्तै, फागुन ४ मा चलचित्र ‘फूलबारी’ प्रदर्शन हुँदैछ। तीन वटै चलचित्र फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको निर्माताले बताएका छन्। चलचित्र ‘फूलबारी’ मा अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको छ।
यसमा विपीन कार्कीले शिक्षकको भूमिका निर्वाह गरेका छन्।

साथै, अरुणा कार्की, प्रियङ्का कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खना, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीले अभिनय गरेका छन्। यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ। दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका छन्।

राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो। यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन्। यसमा नरेन्द्र मैनालीको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ। त्यस्तै,‘छड्के’ को सिक्वेल ‘छड्के २.०’ ग्याङस्टर श्रेणीको चलचित्र हो। प्राकृतिक स्रोत
 हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ।

ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ। अन्य हप्ता खाली राखेर फागुन १९ मा दुई चलचित्र प्रदर्शनमा आउनुले दुवैपक्षलाई घाटा हुने वितरक करण श्रेष्ठले बताए।

उनले भने,‘आश गरिएका दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनु राम्रो होइन, यसले नेपालमा मात्र नभइ अन्तराष्ट्रिय बजारमा समेत असर गरेको छ,यस्ता विषयमा सम्बन्धित निकायले पहल गरेर मिलाउनुपर्छ।’ 
 

कमेन्ट लोड गर्नुस