‘ज्याकीः आई एम ट्वान्टी वान’को पोस्टरमा धीरजको दोहोरो चरित्र
काठमाडौंः रेनशा राईको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा फिल्मको शीर्ष भूमिकामा देखिएका अभिनेता धीरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। पोस्टरमा धीरजको दोहोरो अवतार देख्न सकिन्छ। एकातिर उनी लाहुरेको पोसाकमा देखिएका छन् भने अर्कोतिर डान्सरको रुपमा। पोस्टरले फिल्ममा कतै धीरजको दोहोरो भूमिका त होइन ? भन्ने प्रश्न उब्जाएको छ।
आइकोरको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेभएको छ। प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबरा यो फिल्मको निर्माता हुन्। फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ।
नायिकाको भूमिकामा अभिनय गरेकी जसिता गुरुङलाई फिल्मले फस्टलुकमा स्थान दिएको छैन। केही दिन अगाडि सार्वजनिक फिल्मको फस्टलुक भिडियोमा पनि जसितालाई स्थान दिइएको थिएन। फागुन १९ गते फिल्मको टिजर सार्वजनिक गर्ने तयारी छ।