सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘बहाव’ प्रदर्शनमा

२०७९ चैत्र २४, ०५:५२ खबर संवाददाता

काठमाडौंः नेपाली चलचित्र ‘बहाव’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। ‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ। यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने, ‘कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयास गरेका छौँ। यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ।’ चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ।

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छिन्। ‘हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ। यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिश गरिएको छ। यो केवल मनोरञ्जन मात्र होइन’, अभिनेत्री पन्तले भनिन्।

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए। सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, नेपालले भने, ‘दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ।’

निर्माता श्रीधर पौडेलले यस अगाडि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए। ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्।

कमेन्ट लोड गर्नुस