‘ज्याकीः आइ एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक
काठमाडौंः आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ।
नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलर मुख्य अभिनेता धिरज मगर वरिपरि ट्रेलर घुमेको छ। धिरजलाई हिपहप डान्सर बन्ने सपना हुन्छ। तर, उनका बुवालाई भने छोरालाई लाहुरे बनाउने चाहना हुन्छ। परिवारको सपना विपरित जाँदा धिरजले भोग्नुपरेको संघर्ष ट्रेलरमा समेटिएको छ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक रेनशा राई रानाले यो फिल्म नेपालकै पहिलो डान्स ड्रामा फिल्म भएको दाबी गरिन्। फिल्मले नेपाली युवापुस्ताको कथा समेटेको उनको भनाई छ। ‘यो फिल्मले नेपाली समाजकै कथा भन्छ। अभाव, गरिबी, सपनाको दोसाँधमा अल्झिएका यूवाहरुको कथालाई हामीले भन्ने कोशिश गरेका छौं। मलाई सधै नै चुनौती मनपर्छ। यो फिल्म पनि एउटा चुनौतीलाई स्विकार गरेको परिणाम हो,’ उनले भनिन्।
अभिनेता धिरज मगरले फिल्म ‘ज्याकीः आइ एम ट्वान्टी वान’ दर्शकका लागि विल्कुलै फरक स्वादको फिल्म हुने सुनाए। त्यस्तै अभिनेत्री जसिता गुरुङले पनि फिल्मबाट आफूलाई निकै आशा लागेको बताइन्। फिल्ममा धिरज र जसिताका साथै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ।