मोनिका बुढाथोकी भन्छिन्,'बिरालो चालमा हिँड्दा मज्जा लाग्छ'
मिस नेसनल २०१७' मा भाग लिएपछि म मोडलिङमा लागेकी हुँ। मेरो उद्देश्य नै सुपर मोडल बन्ने भएकाले म र्याम्प वाकमा बढी फोकस गरिरहेकी छु। विभिन्न फेसन सोमा र्याम्प वाक गर्छु।
पूर्व मिस नेपाल सुगारिका केसीसँग मोडलिङ तथा र्याम्प वाकसम्बन्धी कोर्स गरेकी छु। र्याम्प वाक गर्दा हिल भाँच्चिएला कि ? लडिएला कि ? भन्ने डर लाग्छ। ब्याकस्टेजमा हुँदा डरले शरीर काँपिरहेको हुन्छ।
स्टेजमा पुगेपछि भने डर हराउँदै जान्छ। तर, ब्याकस्टेजमा हुँदा केही मिस्टेक भइहाल्छ कि भनेर अनुभवी मोडल पनि डराइरहेका हुन्छन्।
एक÷दुई वटा सोमा र्याम्प वाक गरेपछि आत्मविश्वास बढ्दै जान्छ। वाकका क्रममा स–साना गल्ती हुने गरे पनि बिस्तारै अनुभव हुँदै जान्छ। अहिले निर्धक्क र्याम्प वाक गर्न सक्ने भएकी छु।
फेसन सोमा काम गर्दा धेरै समय पनि दिनु नपर्ने र थोरै भए पनि पारिश्रमिक पाइने भएकाले मोडलिङमा करिअर बनाउन खोज्नेका लागि र्याम्प वाक उपयुक्त विकल्प हो जस्तो लाग्छ।
हरेक सोमा केही नयाँ थिम र नयाँ ठाउँ हुने भएकाले केही दिन ट्रेनिङ लिनुपर्ने हुन्छ।
फेसन सोपिच्छे नै केही हुने पो हो कि भन्ने डर भने मनमा हुन्छ। तर, आत्मविश्वासका साथ र्याम्प वाक गर्दा दर्शकबाट पाइने तालीले भने मनमा पलाएको डर भाग्छ।
आफूले लगाएको पहिरन र आफ्नो वाकलाई एक टकले हेरिरहेका दर्शकका अगाडि सानसँग बिरालो चालमा हिँड्दा मलाई निकै आनन्द आउँछ।