‘ममीका आँखा रसाए’
आश्मा गिरी, अभिनेत्री
सानैदेखि मलाई के लाग्थ्यो भने, जब म कमाउन थाल्नेछु, मेरो सबै कमाइ ममीलाई दिनेछु । र, भइरहेको पनि छ, त्यही ।
मलाई मेरो जीवनको पहिलो कमाइ राम्रोसँग याद छ । झन्डै डेढ वर्षअघि हो क्यारे ! मैले पहिलोपटक पैसा कमाएको ।
ब्याचलर पढ्दै मोडलिङ पनि सुरु गरेँ । जोजो चाउचाउको टेलिभिजन विज्ञापनका लागि प्रस्ताव आयो ।
त्यसमा अभिनय गरेबापत मैले सात हजार रुपैयाँ पारिश्रमिक पाएकी थिएँ ।त्यो पैसा मैले सीधै लगेर ममीलाई दिएँ । छोरीको पहिलो कमाइ देखेर ममी निकै खुसी हुनुभयो । त्यतिवेला ममीका आँखा रसाएका थिए ।
टिभिसी, पेपर एड, मोडलिङ, म्युजिक भिडियो तथा फिल्म अभिनय, जहाँ जति कमाए पनि ममीलाई नै दिने गरेकी छु । मलाई चाहियो भनेचाहिँ उहाँसँगै माग्छु ।
मलाई पैसाको त्यत्ति मोह लाग्दैन । काम चले हुन्छ भन्ने लाग्छ । तर, पहिलो कमाइको भने याद आइरहँदो रहेछ ।