सांसद अन्सारीको निधन, प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँः प्रतिनिधिसभाको बैठक सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
प्रतिनिधिसभाको आइतबार ११ बजेर ४८ मिनेटमा बसेको बैठकले सांसद शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको हो। सांसद शर्माको आइतबार बिहान निधन भएको हो। उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो। २०२० माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी निर्वाचित भएकी थिइन्। २०४६ सालको आन्दोल देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन्।
उनी हाल जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य थिइन्। सभामुख देवराज घिमिरेले सिभिल अस्पतालमा गएर शोक व्यक्त गरेका थिए। प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।