अमेरिकाबाटै प्रकाश देउवाको सभामुखलाई पत्र, अझै बैठकमा उपस्थित नहुने
धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले अमेरिकाबाटै सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफू अझै केही समय प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्।
कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित देउवा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका छन् र जेन्जी आन्दोलनपछि अमेरिका गएका थिए।
पत्रमा उनले २०८२ भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएको र त्यसपछि देखिएको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा बस्नुपरेको उल्लेख गरेका छन्। यही कारणले सो अवधिमा बसेका प्रदेशसभा बैठकहरूमा सहभागी हुन नसकेको र आगामी २०८२ चैत्र २४ गते बस्ने बैठकमा पनि उपस्थित हुन नसक्ने जानकारी गराएका छन्।
संविधानअनुसार सभामुखलाई जानकारी नगराई लगातार १० बैठकमा अनुपस्थित रहे पद गुम्न सक्ने व्यवस्था छ। यद्यपि, देउवाले केही बैठकमा अनुपस्थित भएपछि सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन्।
प्रदेशसभा सचिवालयले उनी सम्पर्कमा नरहेको भन्दै सेवा–सुविधा समेत रोकेको छ। प्रदेश सभा सचिवालयले सभामुखलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको पुष्टि गरेको छ।