सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी युवापुस्तालाई दिनुपर्छ: भीम रावल
धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा इन्चार्जको जिम्मेवारी युवापुस्तालाई दिनुपर्ने बताएका छन् । रावलले पार्टीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी आफूले पाउनुभन्दा युवापुस्ताले पाउनुपर्ने बताएका हुन् ।
नेकपाले सोमबार प्रदेश पार्टीका नेताहरूलाई इन्चार्ज तोकेको थियो । जसमा सुदुरपश्चिमको जिम्मेवारी रावलले पाएका थिए ।
आफूले इन्चार्जको जिम्मेवारी दिएपछि रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श बिना सार्वजनिक भएकोले सार्वजनिक रुपमै यति भन्नुपर्ने भयो । सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ।’