सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिहार मनाउन घर फर्किनेको लर्को, काठमाडौंका बसपार्कमा यात्रुको चहलपहल बढ्यो

२०८३ कार्तिक २३, ०२:२७ खबर संवाददाता

काठमाडौं : रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा घरपरिवारबाट टाढा रहेका नागरिकहरू तिहार मनाउन घर फर्किन थालेका छन्। तिहारका अवसरमा सरकारी बिदा सुरु भएसँगै काठमाडौं छाडेर आफ्नो जन्मथलो जाने यात्रुको चहलपहल बढेको हो।

घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौंका प्रमुख बसपार्क तथा यातायात केन्द्रमा भीडभाड देखिन थालेको छ। विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु र नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको उल्लेख्य चहलपहल देखिएको छ।

वर्षभरि रोजगारी, व्यवसाय तथा अध्ययनका लागि परिवारबाट टाढा रहेकाहरू चाडपर्वको अवसर पारेर घर फर्किने गरेका छन्। तिहारलाई दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा लिइने भएकाले पनि यस अवसरमा घर फर्किनेको सङ्ख्या बढ्ने गरेको छ।

परिवार तथा आफन्तसँगै बसेर तिहार मनाउने र वर्षभरिका खुसी तथा अनुभव साटासाट गर्ने उत्साह यात्रुहरूमा देखिएको छ। टाढा रहेका परिवारका सदस्यहरू घर फर्किन थालेपछि गाउँघरमा समेत चाडपर्वको रौनक बढ्न थालेको छ।

यसैबीच, चाडपर्वका बेला घर फर्किने यात्रुलाई प्रहरीले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। सुरक्षित यातायातका साधन प्रयोग गर्न, यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र आफ्नो सामानको सुरक्षा गर्न प्रहरीले सुझाव दिएको छ।
 

कमेन्ट लोड गर्नुस