कञ्चनपुरमा लागुऔषधसहित दुई किशोरीसहित सात जना पक्राउ
धनगढीः कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एकै दिन सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलाली, प्रहरी चौकी परासन र बागफाँटाको टोलीले दुई किशोरीसहित सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन्। त्यस्तै, भीमदत्त नगरपालिका–१९ बाट ३४ वर्षीय लछु राना, २७ वर्षीय बलराम राना, १८ वर्षीया लक्ष्मी राना र १८ वर्षीया अनुष्का राना पक्राउ परेका छन्।
प्रहरीले लालझाडी गाउँपालिका–१ बाट २.७५ ग्राम र भीमदत्त नगरपालिका–१९ बाट ४९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। दुवै स्थानबाट बरामद गरिएको लागूऔषधको कुल परिमाण ३.२४० ग्राम रहेको छ।