सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरो देशको समय रोईरहेछ

२०७५ भदौ ३०, १०:४४

समय हो साथी 
कति तँहरुलाई तपाई बनायो
कति तपाईंहरुलाई तँ बनायो
न पत्याए हेर
७ वटा प्रदेशमा मात्तिएर बसेका
७ वटा जङ्गेहरुलाई
अनि नागार्जुनको डाँडोमा
टोलाइ रहेका आँखाहरुलाई !!

बलेले गोली थाप्यो
रामेले बम पड्कायो
गोली थाप्ने र बम पडकाउनेहरु
देश बनाउँछु भनेर रगत तताउनेहरु
अरवको गर्मीमा बेल्चा पड्काउँदैछन
पंञ्जाबको ढाबामा चिया तताउँदैछन
लासको थुप्रोभित्र क्रान्ति जन्माउनेहरु !!

बस प्रतिक्षा गर मात्र समयको
पर्खेर बस त्यो दिनलाई
रुवाउनेहरुको ओठमा काँडा अनि
रुनेहरुको मुस्कानमा गुलाब फुल्नेछ 
यो परिवेशमा
यो मौसममा
हावामा पनि जहर घोलिएको छ
मुस्कानहरुमा पनि कपट पोतिएको छ
खुल्लम खुल्ला घुमिरहेछन ब्वासाहरु
रक्षकहरु नै राक्षस भएको बेला
आफ्नाहरु नै छातीमा दुखेको बेला
मसान भइसकेकी निर्मलाहरुलाई हेरेर
चिहान भईसकेकी निर्मलाहरुलाई हेरेर
मेरो देशको समय रोईरहेछ
मेरो देशको समय रोइरहेछ !!!
 

कमेन्ट लोड गर्नुस