‘धनगढीका मेयरले संघ र प्रदेश सरकारले गरेका काम आफूले गरेको भन्नु हास्यास्पद’
धनगढी: पूर्वमन्त्री तथा संघीय सांसद नारदमुनी रानाले धनगढीमा निर्माण सम्पन्न भएका तथा निर्माणको चरणमा रहेका विभिन्न योजना धनगढी उपमहानगरपालिकाका मेयरले गरेको भन्ने दाबी र भनाईमा ध्यानाकर्षण भएको बताएका छन्। धनगढीका मेयर नृपबहादुर वडले सबै विकास निर्माणको काम आफूले मात्रै गरेको भन्ने दाबी हास्यास्पद र अचम्म लाग्दो भएको उनले बताएका छन्।
मेयर वडले सम्पूर्ण कामको जस लिन खोजेको देख्दा अचम्म लागेको सांसद रानाले दिनेश खबरलाई बताएका छन्। ‘प्रदेश र संघ सरकारले सञ्चालन गरेका सबै योजना आफ्नै नगरपालिकाको बजेटले बनाए जस्तो गरी भन्ने गरेको सुन्नमा आएको छ। नगरपालिकाको बजेटले केही गर्न नसक्ने तर संघ र प्रदेशको बजेटका योजना आफैले गरेको भन्ने मेयर वडको दाबीले अचम्म लागेको छ’ सांसद रानाले भने।
धनगढी लगायत देशका २० शहरमा लागु भएको सघन शहरी योजना २०७२ सालमा पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएको उनले बताए। ‘धनगढीमा सघन सहरी अन्तर्गत बनेका जति पनि सडक छन् त्यो बनाउने श्रेय नेकपा एमाले र केपी शर्मा ओलीलाई जान्छ। यसैगरी उत्तर–दक्षिण जेड्ने ६ लेन सडक निर्माणको अवधारणा पनि ओली सरकारले नै ल्याएको हो,’ उनले भने, ‘धनगढीको ६ लेन सडक मेयरले बनाएको भन्ने दाबी गलत छ।’
सिटी हल, जेष्ठ नागरिक मिलन केन्द्र, जडिबुडी प्रशोधन केन्द्र, लगायतका दर्जन बढी संरचना संघीय सरकारको बजेटबाट निर्माण भएपनि मेयर नृपबहादुर वडले मैले गरेको भनेर भन्नु गलत रहेको रानाले बताएका छन्। ‘सघन सहरी र क्षेत्रीय शहरी विकास आयोजनाको सुरुवात केपी शर्मा ओलीको कार्यकालमा भएको हो भन्ने कुरा मेयरले कसरी बिर्सिए?’ रानाले भने’ ‘उपमहानगरपालिकाले सहजीकरण गर्नुपर्ने, सडकको क्षेत्राधिकार खाली गर्नुपर्ने हो। त्यो नगर्ने, नाली बाङ्गोटिङ्गो भएको छ त्यो नहेर्ने। जस लिन मात्रै अग्रसर हुने कुरा गर्नुभएन।’
मेयर वडले आफ्नो गलत प्रचार गरिरहेको समेत रानाले बताए। ‘सांसदले केही गरेन भनेको पनि सुनेको छु। धनगढीको डुबान समाधान गर्नका लागि तत्कालिन भौतिक योजना मन्त्री बसन्त नेम्वाङसँग कुरा गरेर डुबानको स्थलगत अध्ययन गर्न काठमाडौंबाट सरकारी टोली पठाउँदा मेयर पनि मसँग थिए। त्यो कुरा कसरी बिर्से मेयर ?’ सांसद रानाले भने।