नेपाल आईडल रविको गृह जिल्लामा स्वागत
गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ । विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजा सहित काँधमा उठाएर शुक्लाफाँटा नगरपालिकाको झलारीमा परिक्रमा गराएका थिए । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ओडलाई नगरप्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता ओडले कुनै पनि प्रतियोगिता जित्नका लागि कसैको साथ चाहिने भएकाले त्यो साथ यहाँका जनताले दिएको बताए ।
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले समेत भीमदत्तनगरमा आयोजित कार्यक्रममा विजेता ओडलाई सम्मानपत्र सहित सम्मान गरे । महेन्द्रनगर बजारमा आयोजित सम्मान कार्यक्रममा ठुलो सङ्ख्यामा समर्थकको उपस्थिति रहेको थियो ।