सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रिय प्रम ओली

२०७५ पुष १८, ०१:२५ खबर संवाददाता

तिमी हिजो र आज
यति फरक छौ कि
हिजो सत्तामा जान
खोज्दै थियौ भने
आज शासक बन्दैछौ ।।

प्रिय प्रम ओली 
रेलको सपना न देख
एम्बुलेन्स नपाएर आमा
हुन लागेकाहरु संसार छोड्दैछन
रेल गुड्ने सडक होईन
मोटर गुड्ने सडक बनाईदेऊ ।।

प्रिय प्रम ओली
अपराधीलाई उन्मुक्ती होईन 
मगलानमा जेल जीवन 
बिताई रहेका मेरा
गाउका निर्दोष दाईहरुलाई
घर फिर्ता गरिदेऊ ।।

प्रिय प्रम ओली
दारु, चुरोटमा कर
होईन बजैले उधारोमा
चिनी माग्दा नदिने तर 
बाजेले दारु माग्दा दिने
भट्टीहरु बन्द गरिदेऊ ।।

प्रिय प्रम ओली
सुन, कोईला खानी
होईन बन्द भएका 
उद्योग खोली देऊ
हजारौ युवाहरु काम नपाएर
भौतारिरहेका छन ।।

प्रिय प्रम ओली 
वृद्वाश्रम होईन
धर्मशाला खोलिदेऊ
मलाई तिम्रा उखान 
होईन मेरी गाउँकी
बजैका फाग सुन्ने मन छ ।।

प्रिय प्रम ओली 
उखान टुका सुनाएर
कार्यकर्ता हसाउँनुभन्दा
खाडीमा श्रीमान गुमाकी
श्रीमती र छोरा गुमाएकी 
आमालाई हसाई देऊ ।।

प्रिय प्रम ओली
जुनेली रातमा सपना देखेर
लाटा जनतालाई सपना नदेखाऊ 
कुनै दिन तिमीलाई अधेँरी
रातमा लाईट बालेर खोज्नुपर्ला ।।

कमेन्ट लोड गर्नुस