सुदूर नेपाललाई विश्वसँग जोड्दै

सातै प्रदेशमा साङ्गीतिक अभियान

२०७५ पुष २२, ०६:३८

स्थानीय तहमा भएका गीत, सङ्गीतका भाकालाई सङ्ग्रह गरी देश विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गरिएको पूर्व पश्चिम साङ्गीतिक अभियान सातै प्रदेशमा सम्पन्न भएको छ।  
अभियानअन्तर्गत सिन्धुली, सुनसरी, मोरङ, इलाम, झापा, मकवानपुर, चितवन, रुपन्देही, दाङ, बाँके, धनगढी, कञ्चनपुर, कास्की, गोरखा र सुर्खेतका विभिन्न शहरमा साङ्गीतिक गतिविधि सञ्चालन गरिएको थियो। ‘पद्ममा–दीप स्मृति’ प्रतिष्ठानले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा गत मङ्सिर १९ गते सिन्धुलीबाट थालिएको उक्त अभियान पुस १७ गते सुर्खेतमा सम्पन्न भएको जानकारी दिएको छ। 
गीतकार डा डीआर उपाध्यायले रचना गरेका ४२ गीतलाई विभिन्न कलाकारले स्वर दिएर जोहो, अन्तराप, सहेली, हिमाली लय, नशालु नजर, प्रतिनाद र जखम नामक सात सिडी क्यासेटमा सङ्ग्रह गरेर सबै प्रदेशका स्थानीयवासीलाई सुनाइएको थियो। सो प्रतिष्ठानको आयोजनामा देशका सबै प्रदेशमा विद्यमान लोक भाका, सङ्गीत, स्थानीय साहित्य, कलाको अवस्थालाई अध्ययन र अनुसन्धान गरी मोफसलमा भएका प्रतिभाशाली कलाकारको खोजी गर्न अभियान सञ्चालन गरिएको सङ्गीतकार सन्तोष श्रेष्ठले जानकारी दिए। ती गीतमा बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारीले सङ्गीत दिएका थिए। 
उक्त अभियानका लागि करीब छ महीनादेखि गीत रचना गर्ने, सङ्गीत भर्ने र गीतअनुसारका गायकको खोजी गरी सिडी तयार पार्ने काम गरिएको थियो। गत मङ्सिर ९ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले राष्ट्रिय नाचघरमा सातै सिडीको विमोचन गरेको थियो। एउटै गीतकारले सङ्कलन गरेका गीतलाई सात सिडीमा समावेश गरी एकैपटक सार्वजनिक गरिएको यो नै पहिलोपटक भएको आयोजकको दाबी छ। ती सिडीलाई विश्व कीर्तिमान कायम गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ। 
“साङ्गीतिक यात्रालाई अभियानका रुपमा लगिएको यो नै पहिलोपटक हो,” सङ्गीतकार सागर अधिकारीले भने। गोर्खा र कैलालीका स्थानीय जनप्रतिनिधिले सम्बन्धित लोक संस्कृतिको संरक्षणका लागि वार्षिक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रतिष्ठानका अध्यक्ष सुरेश घिमिरेले जानकारीदिए। 
गीतकार उपाध्यायले विभिन्न जाति समुदायका फरकफरक संस्कृति, परम्परा, भाषा तथा संस्कृतिले नेपाल सम्पन्न भए पनि त्यसको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, “मुलुकको सभ्यता र सम्पन्नतालाई कला, साहित्य र संस्कृतिले मापन गर्छ, त्यसको जगेर्नाका लागि स्थानीय सरकार संवेदनशील हुनुपर्छ।”  रासस
 

कमेन्ट लोड गर्नुस