देउवा, दिलेन्द्र बडुसहित १० उम्मेदवारको टुंगो लगाउन कांग्रेसको रातभरि बैठक
काठमाडौंः नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ। शनिबार झिसमिसे बिहानसम्म बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रतिनिधिसभातर्फ नै हाल उद्योगमन्त्री रहेका संस्थापन इतरका नेता दिलेन्द्र प्रसाद बडुलाई दार्चुलाबाट उम्मेदवार बनाउने भएको छ भने बाजुराबाट संस्थापन इतर नेता सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई उम्मेदवार बनाउने भएको छ। उनी पहिलोपटक चुनाव लड्दैछन्।
अछाम जिल्ला सभापति पुष्पबहादुर शाहलाई अछामबाट उम्मेदवार बनाउने निर्णय भएको छ भने मुगुका सभापति ऐनबहादुर शाहीले पनि अवसर पाउने भएका छन्। उनी मुगुबाट सर्वसम्मत सिफारिस भएका थिए। मनाङबाट पूर्वमन्त्री टेकप्रसाद गुरुङ उम्मेदवार बन्ने भएका छन् भने अघिल्लो निर्वाचनमा पराजित सीता गुरुङले तेह्रथुमबाट पुनः अवसर पाउने भएकी छन्।
त्यस्तै प्रदेशतर्फ जुम्ला ख बाट ललितजङ्ग शाही र तेह्रथुम क बाट सन्तोष सुब्बाले अवसर पाउने भएका छन्। ताप्लेजुङ ख बाट खेगन सिंह हाङवाङलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको संसदीय बोर्डले गरेको छ। कांग्रेस संसदीय बोर्ड शनिबार बस्ने बैठकले बाँकी उम्मेदवारहरू तय गर्नेछ।